पशुपतिनाथ मन्दिर कसैको बिर्ता हो – Nagarikabhiyan : National News

पशुपतिनाथ मन्दिर कसैको बिर्ता हो

हरेक साँझ पशुपतिनाथ मन्दिरमा आरती हुन्छ ।
पशुपति मन्दिर भित्रको आरती सकिएपछि बागमती नदी किनारको आरती सुरु हुन्छ ।

यो आरती सामान्यतः बेलुकी ७ बजे सुरु हुन्छ । एक घन्टासम्म चल्ने आरती हेर्न हजारौं मानिसको भीड लाग्छ ।
आरतीमा पुजारी र सांगीतिक टोलीको कलात्मक प्रस्तुति र भजन सुन्न पाइन्छ । यहाँ भगवान् शिव र पशुपतिको मात्र नभएर बागमती गंगा र सम्पूर्ण देवीदेवताको पूजा गरिन्छ ।

भारतको बनारसमा हुने गंगा किनार आरतीबाट प्रभावित भएर यो आरती नेपाल भित्र्याइएको हो । २०६४ साउन २१ गते आधिकारिक रूपमा ’श्री पशुपति एवं बागमती गंगा आरती सेवा समिति’ स्थापना गरियो । त्यही दिनदेखि यहाँ दैनिक रूपमा आरती हुँदै आएको छ । आरती हेर्न र सुन्न आउनेहरूले भिडिओ र फोटो खिच्दै आएका छन् ।

पशुपति क्षेत्रमा आउने भक्तजन र पर्यटकहरूले सम्झना स्वरूप फोटो भिडियो खिच्ने र फेसबुक, इनष्टाग्राम, टिकटक तथा युटुवमा पोष्ट गर्ने गर्दछन् ।

तर, बुढासुब्बा डिजिटलको तर्फबाट बिहीबार एउटा सूचना जारी भयो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनिएको छ । पशुपति क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपी राइट ऐन अन्तर्गत कारबाही हुने भनिएको छ ।