रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु – Nagarikabhiyan : National News

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु

रौतहटको चन्द्रपुर–५ स्थित पूर्व(पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते दुवैको वीरगञ्जमा उपचारको क्रममा राति मृत्यु भएको हो ।

वाग्मतीको नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनायो । मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए । साँझ उनीहरु टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार टेम्पोमा ६ जना सवार थिए । घटना टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ बर्षिय भुपेन्द्र सहनी घाईते भएका छन् । सहनीको दाहिने हातमा चोट लागेको छ । अटोमा सवार चन्द्रपुर–५ का समिर अन्सारी, गरुडा–६ पोठियाहीका अस्गर देवान र उनका श्रीमती जवाहिर खातुन घाईते भएका थिए । देवानको मुखमा र अन्सारीको घाँटीमा चोट लागेको छ । खातुनको दाहिने हात भाँचिएको प्रहरीले जनायो । घाईतेको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना लगतै ईलाका प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव नारयाणी अस्पतालमा राखिएको छ ।