यो वर्ष हिमाली जिल्ला मनाङमा चाँडै हिउँ, तापक्रम माइनस ८ पुग्यो
२ मंसिर २०७७, मंगलवार १२:०६
लमजुङ । हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।
माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताए । दिउँसोदेखि निरन्तर हिउँ परेपछि मनाङमा चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार सोमबार दिउँसोबाट हिउँ परिरहेको छ ।
मनाङको माथिल्लो क्षेत्रमा बढी र तल्लो क्षेत्रमा केही मात्रामा हिउँ परेको उनले बताए । मनाङमा पहिलो पटक ठूलो मात्रामा हिउँ परेको र चिसो बढ्न थालेको बताउनुभयो । ‘गाउँघरमा बस्तीमै हिउँ परेको छ । डाँडाकाँडा हिउँले ढाकिएको छ । चिसो बढ्दैछ’ उनले भने, ‘चिसोले जनजीवन प्रभावित हुन थालेको छ ।’
मनाङको माथिल्लो क्षेत्रमा बढी मात्रामा हिउँ परेको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमि गाउँपालिकाका गाउँबस्तीमा भने धेरै मात्रामा हिउँ परेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार सोमबार दिउँसोबाट परेको हिउँले जनजीवन प्रभावित हुन थालेको छ । चिसो बढ्न थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया