विकास सन्तुलनका आधारमा हुनुपर्छ सांसद आचार्य – Nagarikabhiyan : National News

विकास सन्तुलनका आधारमा हुनुपर्छ सांसद आचार्य

नेकपा एमालेका नेता नारायणप्रसाद आचार्य विधायक भए पनि कानून निर्माणमा मात्र सीमित नभई जनताका विविध सरोकार, क्रियाकलाप र गतिविधिमा संलग्न हुनु पर्ने बाध्यता रहेको बताउँछन्।

उनले संविधानले तीन तहको सरकारको परिकल्पना र कार्यविभाजन गरी स्रोत र साधन वितरण र कार्यान्वयन गर्ने सोच अघि सारेको भए पनि कार्यान्वयनमा कमजोरी देखिएपछि सङ्घीय सांसदले विकास निर्माण र सामाजिक दायित्वको निगरानी पनि सम्हाल्नु परेको प्रतिक्रिया दिए।

सांसदसँग रासस संवाद’का क्रममा प्रतिनिधिसभा सदस्य आचार्यले भने, ‘ठूला भनिएका, पहुँच र प्रभाव रहेकाहरुले आफ्नो क्षेत्र केन्द्रित गरी बजेट विनियोजन गर्दै राज्यको स्रोत र साधनको दुरुपयोग गरेकाले पनि आफूहरुलाई अतिरिक्त जिम्मेवारीमा रहन बाध्य परिस्थिति बन्यो।

राज्यको ढुकुटी र स्रोत साधनमा न्यायपूर्ण वितरण नभएका कारण सांसदहरु बाध्य भएर आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका लागि संलग्न हुन तथा पहल र प्रयत्न गर्न लाग्नै परेको उनको भनाइ छ।

सांसद आचार्यले भने,आवश्यकता र औचित्यका आधारमा भन्दा पहुँच र प्रभावमा पारेर बजेट लगिन्छ। विधि र प्रणालीका आधारमा विकास र बजेट हुन्थ्यो भने ‘माननीय’हरु मन्त्रालयका कोटा–चोटा धाउनु र मन्त्रीहरुका पछि लाग्नुपर्ने थिएन।’

कुलो बनाएपछि जसरी पानी कुलामा आफैं बग्छ विधि र प्रणाली भएपछि राज्य पनि त्यसरी नै चल्नु पर्नेमा जोड दिँदै सांसद आचार्यले विधि, प्रक्रिया र प्रणालीलाई अनुशरण नगर्ने प्रवृत्तिलाई सच्याउन जरुरी रहेको विचार प्रकट गरे।

उनले भने ‘कानुनको पालना नगर्ने हो भने अपेक्षाकृतरुपमा काम गर्न सकिन्न। अनि राज्य विकास निर्माणका साथै सुशासनका हिसाबले पनि धेरै पछाडि पर्छ।’ मानिस इमान्दार नहुने र निजी स्वार्थपूर्तिमा लागेपछि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा चुनौती खडा भएको बताउँदै नेता आचार्यले माथिको मुहान र नियत नै स्वच्छ नभएपछि तल स्वच्छ हुने परिकल्पना गर्न नसकिने प्रतिक्रिया दिए।

उनले भने मन्त्रालय र माथिको जिम्मेवार तहबाटै सच्चिनुपर्छ। अहिलेको संरचना विधि र प्रक्रियाले केन्द्रमा बस्ने सबै स्वार्थी हुन्छन् भन्ने तलको बुझाइ छ। माथि नै दूषित छ भने तल कसरी सफा हुन्छरु यसमा समयमै सबै सचेत भएर असल विधि र प्रणाली स्थापित गर्नुपर्छ।

सांसदहरुले अवसर र आफू अनुकूल विषयमा मात्रै ध्यान केन्द्रित गर्न थाले भन्ने जनताको बुझाइ रहेकाले आगामी दिनमा असल मनशाय र अभ्यासका लागि पहल र प्रखर आवाज राख्नुपर्नेमा उनले जोड दिए।

उनका अनुसार पाल्पाको प्रमुख प्राथमिकताका क्षेत्र कृषि स्वास्थ्य खानेपानी शिक्षा, सडकसहितका पूर्वाधार निर्माणका हुन्। सडकको पहुँलाई पालिका वडा टोल विद्यालय र स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने अभियान जारी छ।

एक घर एक धारा कार्यक्रम पनि जिल्लामा प्रभावकारीरुपमा अघि बढिरहेको छ। तर सरकारले यी काम कुन तह र निकायले गर्ने भनी स्पष्ट नीति नल्याएका कारण केही अलमलमा भने परेको सांसद आचार्यको भनाइ छ।

नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुमा सङ्गठित भई विसं २०३९ बाट राजनीतिमा प्रवेश गरेका नेता आचार्य विसं २०५० मा नेकपा ९एमाले० पार्टी सदस्य, विसं २०५४ मा पाल्पाकै रिङनेर गाविसं अध्यक्ष भए।