धनगढीमा पूर्वप्रहरी सई धामीको आंतक हिरासतमा राखेर अनुसन्धान हुँदै – Nagarikabhiyan : National News

धनगढीमा पूर्वप्रहरी सई धामीको आंतक हिरासतमा राखेर अनुसन्धान हुँदै

कैलालीको धनगढीमा एक जना पूर्व प्रहरी सईले आंतक नै मचाइएको घटना सार्वजनिक भएको छ।
पूर्व प्रहरी सई मदनसिंह धामीले प्रहरीका बहालवाला प्रहरी कर्मचारी, कवाडी व्यावसायीदेखि महिला समेतलाई दुःख दिने गरेको भन्दै पीडितले सबै घटनाको विवरण सार्वजनिक गरेका छन्। उनीबाट पीडित हुनेको संख्या बढ्दै गएपछि हिजो विहिबार धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो। अहिले धामीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएस्पी कुलदिप चन्दले बताए।

प्रहरी कर्मचारीविरुद्ध लागेर अनावश्यक दुःख दिने, जथाभावी उजुरी हालेर चरित्र हत्या गर्ने, सीमा क्षेत्रमा तस्करीको काम गर्ने, बहालवाला अधिकृत हुँ भन्दै महिला र व्यापारीलाई दुःख दिने लगायत आरोप पूर्व प्रहरी सई धामीमाथि लागेको छ। उनले प्रचलित कानुनको खिल्ली उडाउँदै अरुलाई दुःख दिएर कमाउधन्दा गरेको पीडितहरुको गुनासो छ।

पूर्व प्रहरी सई धामीले गरेका कानुन विपरीतका गतिविधिको विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीलाई पीडित पक्षले उपलब्ध गराएका भिडियो प्रमाण तथा लिखित उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता चन्दले बताए। ‘त्रिनगर प्रहरी चौकीले पत्रसहित विभिन्न पुष्टि हुने कुराहरुमा आवश्यक कारवाहीका लागि यहाँ पठाइएको छ, ती विषयमा कतिको सत्यता छ भन्ने विषयमा अहिले अध्ययन गर्ने काम भइरहेको छ।’

एउटा पीडितको छुट्टै जाहेरी पनि परेकाले धामीलाई हिरासतमै राखेर अहिले सबै विषयमा अनुसन्धान गर्ने काम भइरहेको उनले बताए। पुर्व प्रहरी सई धामीले धनगढी उप–महानगरपालिका–२ का राजन गुप्ताको कवाड पसलबाट धम्की दिएर महिनावारी तीन हजारका दरले असुल्दै आएको भिडियोसहितको तस्वीर प्रहरीमा पठाइएको छ।

त्यस्तै कहिलेकाँही भारतबाट घरायसी सरसामानहरु लिई आउने महिलाहरुलाई धामीले सामान चेकजाँच गर्ने तथा पैसा माग गर्ने गरेको, तथा पैसा दिन नमाने प्रहरीलाई बोलाएर तिमिहरुलाई ड्रग्स केसमा फसाएर २५ वर्ष जेल हाल्छु भन्ने जस्ता त्रास देखाउने गरेको समेत पीडितको गुनासो छ। २ वर्ष अझै मेरो जागिर बाँकी छ भन्दै प्रहरी संगठनकै बदनाम गर्ने काम धामीले गर्दै आएको समेत खुलेको छ। महिलाहरुलाई मलाई यो त्यो सामान लिएर आउनु नभए प्रहरीलाई खबर गरी दिन्छु भन्दै अनावश्क दुःख दिने गरेको भनि नाम नखुलाउने सर्तमा पीडित महिलाहरु प्रहरीसम्म पुगेका हुन्।

पुर्व प्रहरी सई धामी पौष १ गते बिहान करिब ९ बजेको समयमा भन्सार अगाडी रहेको व्यारेलको ड्युटीमा गई भन्सारको ड्युटीमा कार्यरत प्रहरी वरिष्ट हवल्दार बिष्णुसिंह कार्की समेतको प्रहरी कर्मचारीहरुलाई ‘तपाईको सई सापले मसँग समन्वय नगरेको भन्ने जस्ता कुराहरु गर्दै हिडिरहेको, बैतडी घर भई हाल धनगढीको मिलनचोक बसी भारतको बनगाँउमा पसल व्यवसाय गर्दै आएका वर्ष २७र२८ को गोरखबहादुर चन्दलाई डर त्रास तथा धम्की दिएर रकम माग गर्ने गरेको विषय पनि बाहिर आएको छ।