आज नेवार समुदायको किजापूजा, देशभर सार्वजनिक बिदा – Nagarikabhiyan : National News

आज नेवार समुदायको किजापूजा, देशभर सार्वजनिक बिदा

काठमाडौं । नेवार समुदायले आज (मंगलबार) किजा पूजा अर्थात भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो ।

नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् ।

कृषी प्रधान नेवा समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब(किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरिरलाई पुजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडी बढ्नकालागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवाः समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा जाकि सिन्हु भनिन्छि । नेवार समूदायमा म्ह पुजाकै दिनमा जस्तै पुजा आजादेखि सौगन दिने चलन रहेको छ ।

पञ्चतत्वको सौगन दिनेदेखि पुजा गर्ने र आफ्नो भाईको दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिबहिनीबिचको आत्मियताकालागि नेवा समूदायमा तिहार प्रसिद्ध छ ।

भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ ।

दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।