विश्वविद्यालयले दीक्षित मात्र होइन बजारमा बिक्ने पनि बनाउनुपर्छ – Nagarikabhiyan : National News

विश्वविद्यालयले दीक्षित मात्र होइन बजारमा बिक्ने पनि बनाउनुपर्छ

दशरथ रङ्गशालामा कालो टोपी कालो गाउन अनि पहेँलो स्कार्फमा सजिएकी सन्ध्या चौलागाईँको खुसी मुहारमा प्रष्ट देख्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा दीक्षित हुन साथीहरुसँग आउनुभएकी चौलागाईँ शिरको कालो टोपी घरि झिक्दै घरि लाउँदै गर्नुहुन्छ । उहाँका साथीहरुको मुहारमा पनि यस्तै खुसी देखिन्छ । काभ्रे चौँरीदेउराली गाउँपालिकाकी चौलागाईँ व्यवस्थापन सङ्काय अन्तर्गत बीबीएस परीक्षा पास गरेर दीक्षित हुन दशरथ रङ्गशाला आउनु भएको हो ।

विदेशी विश्वविद्यालयमा हुने गरेको दीक्षान्त समारोह हेरिरहनुभएकी उहाँलाई आफ्नै देशमा पनि यस्तै किसिमको समारोह भइदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्रिभुवन विश्वविद्यालय त्रिवि ले यसपटक त्यस्तै समारोह आयोजना गरेकोमा उहाँ आफूलाई गौरवान्वित भएको महसुस पनि गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘नेपालमा पनि विदेशको जस्तो दीक्षान्त समारोह गर्न सकिन्छ भन्ने लागिरहन्थ्यो । अहिले त्रिविले यस किसिमको समारोह गरेकोमा धेरै खुसी तथा गौरवको महसुस भएको छ ।’
त्रिविलाई उहाँको सुझाव पनि छ यसरी समयमै नतिजा आएर समयमै दीक्षान्त समारोह गर्न सकियो भने नेपाली विद्यार्थीले विदेशी दीक्षान्त समारोहलाई देख्न मात्र पाउँदैनन यहीँ त्यस्तै अनुभव आफूले पनि गर्न पाउँछन् ।

दीक्षान्त समारोहले विदेशी विश्वविद्यालय बिर्सायो । अब गुणस्तर पनि विदेशी विश्वविद्यालय जस्तो भइदिए हुन्थ्यो भन्ने चौलागाईँको चाहना छ । उहाँ भन्नुहुन्छ, ‘यहाँको विश्वविद्यालयको पढाइ पनि विदेशी विश्वविद्यालयमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको छ।’

अब व्यवस्थापनमा स्नातक गरेपछि उहाँ यसै अनुसारको काम पनि खोजिरहनु भएको छ । तर, रोजगारीको भने यहाँ समस्या रहेको उहालाई लागिरहेको छ । यसका लागि पनि सरकारले केही गर्नुपर्ने भन्ने उहाँलाई लाग्छ । धेरै विद्यार्थीहरु अहिले पढ्नका लागि भन्दा पनि कामका लागि विदेश जाने हुँदा यहीँ पढाइ अनुसारको काम दिन सक्ने हो भने विद्यार्थीहरु विदेश नजाने उहाँको विचार छ ।

उहाँ भन्नुहुन्छ, ‘जुन तहमा पढिरहेको हो त्यही अनुसारको रोजगारी सृजना हुने हो भने विद्यार्थीहरुले विदेशी भूमिमा गएर पसिना बगाउनु पर्दैन । पढ्नलाई नै भनेर त थोरै विद्यार्थीमात्र बाहिर गइरहेका हुन्छन् ।’