राम कलेवा विधि सम्पन्न भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न – Nagarikabhiyan : National News

राम कलेवा विधि सम्पन्न भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ।
विवाहपञ्चमी महोत्सवअन्तर्गत राम कलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो। विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर, मिठाई लगायतका परिकार खुवाउने परम्परा रहेको छ। जसलाई मिथिलाञ्चलमा मौहक समेत भन्ने गरिन्छ।

राम कलेवा विधिसमेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत सम्पन्न भएको हो। रामकलेवाका राम लक्ष्मणसहित चारै भाईको प्रतिकको रुपमा रहेका बालकलाई जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मड़वामा बसाएर भोजन गराइएको थियो।

राति विवाह भएकै मण्डवामा बसाएर चारै भाईलाई भोजन गराइएको थियो। रामकलेवा विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघ्न तथा अयोध्यावासीलाई गीतकै माध्यमले जिस्काएका थिए।

चारै भाईका साथै अयोध्याबाट आएका जन्तीहरुलाईसमेत आदरका साथ भोजन ग्रहण गराइयो। जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरुले मैथिली परम्पराअनुसार लोकगीत डहकन गाएर गाली गरेका थिए। सो हास्यपरिहासको माहोलले जानकी मन्दिरको वातावरणलाई रोमाञ्चक बनाएको थियो।

आइतबार राति वैदिक परम्पराअनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ। जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ५६ प्रकारका व्यञ्जनसहित भोजन ग्रहण गराई दक्षिणा दिएर बिदाइ गरिएको छ।