संवेदनहीन बन्दै एम्बुलेन्स चालक बिरामी बोक्ने सवारीमा मादक पदार्थको गन्ध
१ पुष २०८०, आईतवार १५:३३
एम्बुलेन्स जस्तो सवेदनशील सवारीको चालक मापदण्ड अन्य सवारी भन्दा फरक छ । चालक अनुमतिपत्र लिएर पाँचवर्ष अन्य सवारीमा चालकको अनुभव लिएपछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट छुट्टै तालिम समेत लिएको हुनुपर्ने प्रावधान छ । त्यस बाहेक एम्बुलेन्स चालकले पालना गर्नुपर्ने आचारसंहिता समेत अन्य चालक भन्दा विशिष्ट छन् । तर, मोरङमा पछिल्लो समय एम्बुलेन्सका चालक धमाधम मादक पदार्थ सेवन गरेर सवारी चलाईरहेको अवस्थामा पक्राउ पर्न थालेपछि यस बारे चिन्ता र चासो बढ्न थालेको छ ।
गत मंसिर ५ गते को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मोरङ रतुवामाई नगरपालिका–१ का २९ वर्षीय सफल मुर्मु सतार मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ परेका थिए । उनले चलाएको एम्बुलेन्सले विराटनगर अस्पताल चौकमा को २५ प २३६८ नम्बरको स्कुटरसहित मोटरसाइकल र पसलको सटरमा समेत ठक्कर दिएर क्षति पुगेको थियो ।
दुर्घटनापछि मोरङ प्रहरीको नियन्त्रणमा परेका चालक सफलले मादक पदार्थ सेवन गरेको पाइएको थियो । उनी विरुद्ध अभद्र व्यवहार कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय मोरङबाट १० हजार धरौटी माग भएको थियो ।सुनसरी दुहवी नगरपालिका–४ का २८ वर्षीय सुनिल राजबंशी समेत मंसिर २८ गते मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाईरहेको अवस्थामा पक्राउ परेका छन् । प्रदेश १–०२–००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा अभद्र व्यवहार समेत गरेपछि उनी विरुद्ध सात दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।
बिरामी बोक्ने एम्बुलेन्सका चालक मादक पदार्थ सेवन गरेर सवारी हाँकेको अवस्थामा धमाधम पक्राउ पर्न थालेपछि यससँग सम्बन्धित सरोकारावालाहरु भने चिन्तित बनेका छन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार प्रदेश र जिल्लास्तरमा यसको नियमन र सञ्चालन समितिहरु रहेका हुन्छन् ।
तर, एम्बुलेन्सका चालकहरुको लापर्वाहीपूर्ण व्यवहारले घटनास्थलदेखि अस्पतालसम्म पु¥याउनु पर्ने बिरामी र आफन्त समेत जोखिममा पर्नसक्ने मादक पदार्थ सेवन गरेका चालकहरु पक्राउ परेसँगै बढाएको हो ।
मोरङ एम्बुलेन्स चालक संघका अध्यक्ष चन्द्र पराजुलीका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले यसको नियमन र कारवाही गर्नुपर्ने प्रावधान निर्देशिकामा रहेको छ ।
‘बस चलाएर आउने बित्तिकै एम्बुलेन्स चलाउन पाईदैन’ अध्यक्ष पराजुलीले भने–राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट एम्बुलेन्स चालक तालिम लिएको प्रमाणपत्र समेत अन्य कागजातका साथ आवश्यक हुन्छ । त्यसको नियमन जिल्ला ट्राफिक प्रहरीले गर्नुपर्ने भएपनि त्यस्तो नहुने गरेको अध्यक्ष पराजुलीको भनाई छ ।
तालिम लिदाँ २५ वर्ष भन्दा माथि भई पाँचवर्षसम्म सवारी चालकको काम गरिसकेको अनुभव हुनुपर्ने प्रावधान निर्देशिकामा रहेको छ ।
अध्यक्ष पराजुलीका अनुसार संस्थाले भित्र्याएका एम्बुलेन्स व्यक्तिले भाडामा लिएर चलाउँदा त्यसको नियमन हुननसकेर अहिले विकृति भित्रिएको हो । संस्थाको आफ्नै नियमनमा रहेका एम्बुलेन्स चालकहरु समेत तालिम प्राप्त नहुने र कतिपयको कागजात नविकरण समेत नहुने गरेकोे पराजुलीको आरोप छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला एम्बुलेन्स व्यवस्थापन तथा सञ्चालन समितिमा स्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव, सरकारी अस्पतालका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालय, रेडक्रस र एम्बुलेन्स चालक संघका प्रतिनिधि सदस्य हुने प्रावधान रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया