दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मामा भान्जाको मृत्यु – Nagarikabhiyan : National News

दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मामा भान्जाको मृत्यु

दाङको घोराही– १० नारायणपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई किशोरको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार झिम्रुक ४ बाङ्गेका १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–६ लुङका १८ वर्षका सागर केसीको मृत्यु भएको हो ।

गएराति १०.२० बजे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा१क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा२प ५५८९ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिएको थियो ।

गम्भीर घाइते दुवैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोर मामा-भान्जा रहेको खुलेको प्रहरीले जनाएको छ । मोटरसाइकल जिसीले चलाएका थिए ।

टिप्पर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका – ९ का २६ वर्षीय इश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालकको साथबाट सवारी चालक लाइसेन्स फेला नपरेको प्रहरीले बताएको छ ।