कांग्रेसबाट राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई – Nagarikabhiyan : National News

कांग्रेसबाट राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। साथै बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय पनि गरेको छ।

बैठकपछि निर्णय सुनाउँदै नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको बताए। यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो।

तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गते सम्म पुर्‍याएको थियो। उनले बैठक सार्नुको कारण राष्ट्रिय सभाको निर्वाचन रहेको कांग्रेसको निस्कर्ष छ। उनले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताए।

निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको उनले जानकारी दिए।