विचार मिथिला कलाको प्रतीकात्मक अर्थबोघ
२८ मंसिर २०८०, बिहीबार ११:५९
काठमाडौँ – मिथिला चित्रकलामा प्रतीकहरूको प्रयोगले मिथिलाको सम्पूर्ण सांस्कृतिक जीवन परिलक्षित भएको पाइन्छ । मैथिलहरूले हजारौं वर्ष पहिलेबाट उत्सवका लागि चित्रकलालाई विकसित पारेको देखिन्छ । चित्रहरू तान्त्रिक प्रतीकहरूले परिपूर्ण रही जीवनको तान्त्रिक विचारधाराको प्रतिनिधित्व गरिरहेका छन् । कोहवर, अरिपन र पौराणिक कथामा आधारित दृश्य मिथिला चित्रकलामा जनप्रिय रहेका छन् ।
अरिपनको पदचिह्नले सूर्य, चन्द्र तथा पृथ्वीको आत्माको रुप पाइन्छ । सिन्दृरको रातो बिन्दृले प्रकृतिको शक्ति रुपलाई बोध गराउँछ । कोहवरमा वासनात्मक मुद्रा, अरिपनमा शास्त्रोक्त क्रिया पद्धति एवं घरेलु धार्मिक उत्सवहरूका लागि पवित्र ठाउँको प्रतिनिधित्व पनि गरिरहेको छ ।
चित्रहरू पुरातन शैलीको भए तापनि स्पष्टरूपले भाव र प्रतीकमा श्रेष्ठ छन् । चित्रमा मुख सधैँ पाश्र्व दृश्यमा हुन्छन् भने आँखा अगाडिबाट देखिने हुन्छन् । खुट्टाहरू तिर्यक, लामा चुच्चे नाक र ठूला आँखा भएका अनुहारले मङ्गोलियन प्रभाव निर्मित नदेखाई आर्य सन्ततिको बोध गराउनु यसको उत्कृष्टता मानिन्छ । आज–भोलि पनि मिथिलाका नारीहरू कुनै धार्मिक काम र उत्सवमा आफ्ना घर, भित्ता एवं आँगन चित्रहरू बनाउँछन्, बनाइएका चित्रहरू प्राचीन र मध्यकालीन चित्रहरूको जस्तै साधारण हुन्छन् तथा तत्कालीन समयको मिथिलाको पुरातन परम्परालाई जीवित रूपमा देखाउँछन् । मूल रूपमा यो कला नारी वर्गसँग सम्बद्ध छ । यो आश्चर्य तर सत्य हो कि पुरूष वर्गले अपवाद रूपमा नै कला साधनामा भाग लिएका छन् ।
मिथिलाको संस्कृति लोक वैदिक संस्कृति हो । यसको कला परम्परा लोक वैदिक संस्कृतिकै उपज हो, चित्रकला पुस्ताले अर्जित गरेको सम्पत्ति हो र युगानुरूप नयाँ आयाम थपिदै गएका छन् । विषय–वस्तु, रङ्गमा परिवर्तन आए पनि मौलिक संस्कार र प्रवृत्ति अझ पनि त्यसै रूपमा सुरक्षित छ । यस कलाको सांस्कृतिक महत्वसहितको इतिहास हर्षवद्र्धन ९सन् ६०३–६४३ ० को समयमा रचित हर्षचरित र नैषद्ध चरित ग्रन्थहरुमा उल्लेखित ग्रहवर्मनको कोहवर भित्ति चित्रमा देवता र कामदेवको चित्र तथा अरिपनहरुको चर्चा पाइन्छ ।
कालिदासको महाकाव्य मेघदूतमा पनि काव्यका चरित्र नायक नवविवाहित यक्षको कोहवर घरको प्रवेश द्वारको भित्तिमा कमल शङ्खका चित्र बनाएको उल्लेख छ । त्यतिखेर विवाहका लागि वरवधुको वरण गरेअनुसार वरको अनुपस्थितिमा वरको प्रतीक फलक ९काठरहाती दाँत० बनाएर पडाउने वा मगाएर हेर्ने र यज्ञ वरको चित्र राखेर विवाह गर्ने प्रचलन रहेको पनि तत्कालीन साहित्यमा चर्चा भएको पाइन्छ । यस कलाको प्रशंसात्मक चर्चा चौधौँ शताब्दीका विद्वान त्योतिरीश्वरले पनि वर्ण रत्नाकर नामक पुस्तकमा गरेका छन् तर यसको परम्परालाई हेर्ने हो भने अझ प्राचीन कालको हिन्दू सभ्यता र संस्कृतिको स्वर्णिम युगको इतिहासका पानालाई पल्टाउनु पर्ला जस्तो लाग्छ ।
डा। उपेन्द्र ठाकुरको ‘हिस्ट्री अफ मिथिला’ पुस्तकमा भगवान रामचन्द्रको विवाहमा पनि राजा जनकको दरबारमा भित्तीचित्रहरु बनाइएको उल्लेख छ । मिथिला चित्रकलामा सेतो रङ्ग अर्बा चामलको पीठो, सिन्दूरी रङ्ग सिन्दूर र बाख्रीको दूधको मिश्रण, नीलो रङ्ग वनस्पति नील, रातो रङ्ग कुसुम फूल, पीत रङ्ग डोका, घोंंघाबाट चूनामा वरगदको दूध मिश्रण, हरियो रङ्ग सिमी वा बेलको पात र कालो रङ्ग जौका खरानी र गाईको गोबर वा बेलको गुंदको मिश्रणको चलन रहेकोमा वर्तमानमा रासायनिक रङ्गले प्रश्रय पाएको छ ।
प्राकृतिक रङ्गहरुमा स्थायीत्व हुन्छ भने रसायनिक रङ्गमा स्थायीत्वको अभाव देखिएको छ । प्राकृतिक रङ्गहरु घरैमा बनाउने चलन थियो । यसका विषयवस्तुहरूमा मुख्यतयाः लौकिक, पारलौकिक र प्रतीकात्मक पक्षहरूलाई समेटिएको पाइन्छ । लौकिक विषयवस्तु अन्तर्गत धार्मिक, सांस्कृतिक र काल्पनिक विषयवस्तुमा प्राकृतिक दृश्यहरू नदी, पहाड, बगैंँचा, लहरा, कदम, कटहर, चरा, माङ्गलिक वस्तुहरूको साथै सजावटका विभिन्न चित्रहरू र पारलौकिकमा देवीदेवताका सुन्दर चित्रहरू पर्दछन् । प्रस्तुत शिव, विष्णु, लक्ष्मी, सरस्वती, रामसीता, राधाकृष्णका चित्रमा मानवीय भाव, स्नेह एवं ममताको प्रतीकात्मक अभिव्यक्तिको बोध गराउँछ ।
त्यस्तै प्रतीकात्मक विषयअन्तर्गत विभिन्न वनस्पति, प्राणीलगायत चराचुरूङ्गीको बाहुल्यता पाइन्छ । धार्मिक अनुष्ठान र लोकाचारमा आधारित यो कला जीवनको अभिन्न अङ्ग हो । यस कलामा समान्यतः सात किसिमको रङ्गको प्रयोग देखिन्छ । प्राकृतिक र घरेलु उपकरणबाट तयार गरिएको रङ्गले भिन्दा भिन्दै वस्तुहरूको भावलाई उजिल्याउने गरेको छ जो पुस्तौं पुस्तादेखि आमसमुदायमा स्थापित हँुदै आएको छ । पूजाआजा, चाडपर्व अन्य संस्कारहरू उपनयन, विवाह जस्ता अवसरमा कुन–कुन प्रतीकको प्रयोग गर्नेबारे एउटा परम्परा नै बसेको पाइन्छ । मिथिला चित्रकलामा लौकिक अन्तर्गत जीवन र प्रकृतिलाई आधार बनाई वस्तुसत्तात्मक र धारणात्मक प्रतीक परिलक्षित हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया