लमजुङको तार्कुघाटस्थित एक घरमा आगलागी झन्डै ३३ लाख रुपैयाँबराबरको क्षति – Nagarikabhiyan : National News

लमजुङको तार्कुघाटस्थित एक घरमा आगलागी झन्डै ३३ लाख रुपैयाँबराबरको क्षति

लमजुङको राइनास नगरपालिका ८, तार्कुघाटस्थित शुकलाल श्रेष्ठको परिवार बस्दै आएको घरमा आगलागी हुँदा ३३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ
विन्दु श्रेष्ठको २ तले कच्ची घरमा केही वर्षदेखि शुकलालको परिवार बस्दै आएका थिए । स्थानीयका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उक्त घरमा आगलागी भएको हो । आगलागीबाट जस्ताले छाएको घर र घरभित्रका सबै सामान जलेर नष्ट भएको वडाअध्यक्ष कृष्णबहादुर रानाभाटले बताए । वीर भक्ति माविनजिकै रहेको उक्त घरमा आगलागी भएपछि स्थानीयले हारगुहार गरेका थिए ।

शुकलालका श्रीमानश्रीमती साथै छोरा र छोरी खाना खानको लागि बाबा आमाको उपल्लो घरमा खाना खान गएको बेला आगलागी भएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको देखिएको छ ।

स्थानीय, प्रहरी साथै बेंसीशहर नगरपालिकाको दमकलले आगो निभाए पनि घरभित्रका सवै सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घले आफैं घटनास्थल पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले आगलागीबाट ३३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ । उनका अनुसार १२ लाख रुपैयाँ बराबरको सुनचाँदी नगद २ लाख रुपैयाँ लगत्ता कपडा भाँडावर्तन, फर्निचर सबै जलेको मुचुल्का प्रहरीले उठाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । पीडित परिवार अहिले बाबाआमाकै घरमा बसिरहेका छन् ।