तिहारमा गोबरका दियो – Nagarikabhiyan : National News

तिहारमा गोबरका दियो

टीकापुरका घनश्याम पौडेलले यसपालिको तिहारमा गोबरका दियो र अगरबत्ती प्रयोग गर्ने भएका छन् । तिहार लक्षित गरेर टीकापुरमा उत्पादन सुरु गरिएको गोबरका दियो, मूर्ति र अगरबत्ती उनले प्रयोग गर्ने भएका हुन् । कैलालीको टीकापुर–५ सीतापुर सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले पहिलो पटक यहाँ गोबरका दियो, अगरबत्ती र मूर्ति बनाएको हो ।

टीकापुर क्षेत्रका नौ जना स्वयंसेवी युवाले सामुहिक रूपमा छाडा चौपाया व्यवस्थापन गर्दै गौशाला सञ्चालन गरिरहेका छन् । दीपावलीलाई लक्षित गरी गौशालाबाट उत्पादन हुने गौमुत्र र गोबर प्रयोग गरी पहिलोपटक यहाँ दियो, अगरबत्ती र मूर्ति बनाउन सुरु गरिएको हो ।

६ महिनाअघिदेखि दुई सय घनमिटरको गोबरग्यास प्लान्ट स्थापना गरेर ५५ घरमा बिहान र साँझ दुईरदुई घण्टा निःशुल्क गोबरग्यास वितरण गरिरहेको समितिले गोबर र गौमुत्र उपयोग गर्दै यस्ता सामान बनाउन थालेको हो । समितिका सचिव द्वारिका जैसी र सदस्य उपेन्द्र न्यौपानेले भारतको उत्तराखण्डस्थित काँशीपुरमा पुगेर यसबारेमा तालिम लिएको बताए । ‘ढोकाका नेमप्लेट, अगरबत्ती, दियो, नेपालको झण्डा, श्रीयन्त्र, भगवान्को मुर्ति, एक्युप्रेसर उत्पादन गरिरहेका छौं,’ सचिव जैशीले भने, ‘हाम्रा उत्पादनबारे थाहा पाएकाले धमाधम यसको माग गरिरहेका छन् ।’

गौशाला सञ्चालनका लागि स्वयंसेवी रूपमा अग्रसर भएका युवाहरूले लोकबहादुर बुढाथोकीको अध्यक्षतामा यकराज पण्डित, द्वारिका जैशी, गेहेन्द्र बम, रुथ सुवेदी, उत्तमकुमार शाहलगायत युवाको समूह बनाई गौशाला स्थापना गरेर गौ संरक्षणमा जुटेका हुन् । ‘समितिमा नभएपछि बाहिरबाट सहयोग गर्नेहरू पनि थुप्रै हुनुहुन्छ, सबैले हौसला दिइरहनु भएको छ,’ अध्यक्ष बुढाथोकीले भने, ‘अहिलेलाई भारतबाट आयात हुने दियोको उपयोग घटाएर माटोको भन्दा बलियो र आफ्नै उत्पादन प्रयोग हुन सके नेपाली रुपैयाँ बाहिरनबाट रोकिने थियो ।’