रिगलको मुद्दा दोस्रो दिनको सुनुवाइ सुरु आजै फैसला सुनाउने तयारी
१५ कार्तिक २०८०, बुधबार ११:५७
व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका रिगल भनिने योगराज ढकाललाई दिइएको माफीविरुद्ध परेको रिटमा बहस अन्तिमतिर रहेको छ। मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको थियो।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा भइरहेको सुनुवाइमा सरकारी पक्षले बहस गरिरहँदा समय नपुगेपछि हेर्दा हेर्दैका लागि आजका लागि राखिएको थियो। दोस्रो दिनको बहस सर्वोच्चको पूर्ण इजलासमा सुरु भएको छ।
भारती शेर्पाले दायर गरेको रिटमा निवेदकको बहस सकिएर सरकारी पक्षले बचाउ बहस गरिरहेको छ। नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले मंगलबारको निरन्तर बहस सुरु गरेका छन्। उनीपछि रिगल, राष्ट्रपति कार्यालय सहित प्रतिवादीका कानुन व्यवसायीहरुले बहस गर्नेछन्। उनीहरुको बहसपछि निवेदकले जवाफी बहसका लागि केही समय पाउनेछन्। जवाफी बहस आजै सकेर फैसला सुनाउने सर्वोच्चको तयारी छ। सर्वोच्चले रिगललाई पुन थुनामा पठाउने कि सरकारले दिएको माफी सदर गर्ने भन्नेबारे निर्णय सुनाउनेछ।
यदि सर्वोच्चले राष्ट्रपतिले दिएको सजाय माफी गलत ठहर गर्यो भने रिगल पुन पक्राउ पर्नेछन्। उनलाई बाँकी कैदका लागि थुनामा राखिनेछ।
मंगलबार महान्यायाधिवक्ता दिनमणी पोखरेल, नायव महान्यायाधिवक्ता विश्वराज कोइराला र नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा वहस भएको थियो। उनीहरुले माफी दिने निर्णय बदर गर्दै रिगललाई पुन थुनामा पठाउनुपर्ने माग गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया