मकवानपुरका तीन ठाउँमा भएका छुट्टाछुट्टै दुर्घटना १० जना घाइते – Nagarikabhiyan : National News

मकवानपुरका तीन ठाउँमा भएका छुट्टाछुट्टै दुर्घटना १० जना घाइते

मकवानपुरका छुट्टाछुट्टै तीन ठाउँमा भएका गाडी दुर्घटनामा १० जना घाइते भएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर –७ दुम्सीडाँडाभित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दुम्सीडाँडाबाट हेटौँडातर्फ जाँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो अनियन्त्रित भइ सडकबाट ३५ फिट तल खस्दा अटोमा यात्रा गरिरहेका ७ जना घाइते भएका हुन् ।

यसैगरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर –७ देउखेलमा पालुङ–देउखेल भित्रि सडकखण्डमा देउखेलबाट पालुङतर्फ आउँदै गरेको ना ४ ख ४०८३ नम्बरको बस बाटोमा बिग्रँदा मर्मत गर्ने क्रममा बस गुड्न गइ बसको सहचालक मकवानपुर थाहा नगरपालिका वडा नम्बर –३ बस्ने १९ वर्षीय प्रशान्त गोपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते सहचालकको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर–७ लामिटारमा झुरझुरे तर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोकिँदा बाग्मती गाउँपालिका वडा नम्बर–६ ठाडीखोलाका दुइ जना घाइते भएका छन् ।