विदेशबाट फर्केर स्वरोजगारमा रमाएका भोजपुरका सुमन – Nagarikabhiyan : National News

विदेशबाट फर्केर स्वरोजगारमा रमाएका भोजपुरका सुमन

भोजपुर :वैदेशिक रोजगारीबाट दुई वर्ष बिताएर फर्किएका भोजपुर नगरपालिका–५ का सुमन प्रधानले आफू स्वरोजगार बन्ने र अरुलाई पनि स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले ड्राइभिङ सेन्टर सञ्चालन गरेका छन्।

विदेशमा दुई वर्ष बिताएर आएका उनले सिपको अभावमा मलेसियामा नेपालीले पाएको दुःख देख्न नसकेर आफ्नै गाउँमा फर्केर पहिलो पटक यो काम सुरु गरेको बताए। ‘मानिसलाई सहजरूपमा जीवनयापन गराउने आधार नै सिप हो’, उनले भने, ‘सिप भएको मानिसले जहाँ पनि आफ्नो क्षमता देखाएर खानसक्छ। विदेशमा पनि सिपका कारण धेरैले दुःख पाएको देखेँ। त्यहाँका नेपालीले भोगेको दुःख बुझेरै सवारी साधन चलाउने सिप दिँदै आएको छु।’

योसँगै आफूले टेम्केमैयुङ–२ कृषि समूह गठन गरेर छिनामखुमा व्यावसायिकरूपले सुन्तला खेतीसमेत गर्दै आएको व्यवसायी प्रधानले बताए। उनले भने, ‘मेरो अगुवाइमा कृषि समूह गठन गरेर अरुलाई पनि यसमा समेटेको छु। विदेशमा गएर दुःख गर्नुभन्दा यही नै फरक ढङ्गले काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ।’

कृषिबाट बाँकी रहेको समय सदुपयोग गर्दै व्यवसायी प्रधानले पाँच वर्षअघिदेखि पाथीभरा ड्राइभिङ सेन्टर खोलेर स्थानीयवासीलाई दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन चलाउन सिकाउँदै आएका छन्। ‘विदेशमा धेरै दुःख गरियो। त्यहाँ गर्ने मेहनत यहीँ गर्ने हो भने राम्रो आम्दानी हुने रहेछ,’ व्यवसायी प्रधानले भने, ‘आफ्नै ठाउँमा फरक केही काम गरेर उदाहरणीय बनौँ भनेर जिल्लामै पहिलो पटक यो काम थालेको हुँ। मैले सिप सिकाएका धेरै जना आफैँ स्वरोजगार बनेर काम गरिरहेका छन्। यहाँ सिप सिकेर वैदेशिक रोजगारीमा गएका दुई जनाले ड्राइभिङ गरेर राम्रो तलब खाँदैछन्।’

वार्षिक ७५ हजार रुपैयाँमा पाँच रोपनी जग्गा भाडामा लिएर सिप सिकाउँदै आएको तर यो सेन्टर सञ्चालन गरे पनि त्यसलाई धान्न भने समस्या रहेको उनको भनाइ छ।

‘सिप लिनका लागि स्थानीयवासीलाई धेरै खर्च गरेर बाहिर जानुपर्ने समस्या अन्त्य भएको छ’, प्रधानले भने, ‘तर सानो ठाउँ भए पनि व्यवसाय धान्न भने निकै सकस भएको छ। यस्ता सिपमूलक काम गर्ने मानिसलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्छ।

हालसम्म जिल्लाका ७००भन्दा बढीलाई सवारी साधन सञ्चालनसम्बन्धी सिप दिलाएका प्रधानले भोजपुरजस्तो सानो ठाउँमा सञ्चालन गरेको यो व्यवसायबाट आफूले पनि सिप सिक्न पाउँदा खुसी लागेको अरुण गाउँपालिकाका युवा सचिन भुजेलले बताए।