बझाङमा ८ हजार परिवारको दशैँ त्रिपालमुनि – Nagarikabhiyan : National News

बझाङमा ८ हजार परिवारको दशैँ त्रिपालमुनि

थलारा गाउँपालिका–३ कुचकी धिर्जादेवी कामीले दशैँ, तिहारका लागि छिमेकीबाट मागेर खाइनखाइ जम्मा गरेको खाद्यान्न भूकम्पमा परेर पुरियो । अहिले उहाँको चार जना परिवारको बास खुला आकाशमुनि छ । अहिले खेतबारीबाट अन्न भित्र्याउने समय हो तर उहाँसँग खेतबारी पनि छैन । ‘छिमेकीसँग मागेरै जीविका चलाउँदै आएकी थिएँ । सबै कुरा भूकम्पमा पुरियो’, घरतिर हेर्दै गहभरी आँसु पारेर धिर्जादेवीले आफ्नो पीडा सुनाउनुभयो ।

तत्काल घर पुनःनिर्माण गर्नसक्ने उहाँको क्षमता छैन । बिहान–बेलुकाको छाक टार्नका लागि वर्षभरि छिमेकीको काम गर्नुपर्ने, मजदुरी गर्नुपर्ने अवस्था उहाँको परिवारको छ । ‘कल्पनामा पनि फेरि घरभित्र बस्न पाउँछौँ भन्ने आश छैन’, धिर्जादेवी भन्नुहुन्छ, ‘भूकम्पमा घर भत्किएपछि सान्त्वना दिन र घरको अवस्था बुझ्न धेरै मानिस आएका छन् । सामूहिक रूपमा खाना खाएर गुजारा गरिरहेका छौँ । झन्डै ३० परिवार एउटै भान्छामा खाना खाइरहेका छौँ । कसले खाना दिन्छ भन्ने पनि थाहा छैन ।’

सधैँ जस्तै यस वर्ष पनि घरभित्रै बसेर टीका लगाउने, रमाइलो गर्ने सपना थियो । मागेरै भए पनि मिठो खाएर एक दिन शान्तिसँग बस्ने चाहाना थियो । तर असोज १६ गते गएको भूकम्पका कारण घर ढलेपछि दशैँ हाम्रा लागि दशा बनेर आएको छ’, उहाँले थप्नुभयो ।