डराएका कर्मचारी देखाएर पन्छिंदै कतिबेला कसको जागिर जाने हो भन्ने आतंक छ प्रचण्ड – Nagarikabhiyan : National News

डराएका कर्मचारी देखाएर पन्छिंदै कतिबेला कसको जागिर जाने हो भन्ने आतंक छ प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार धनगढीमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा कर्मचारीहरुले निर्णय गर्न डराएकोबारे पुरानै गुनासो दोहोर्‍याए । प्रधानमन्त्रीले सरकारले राम्रोसँग काम हुन नसक्नुको एउटा कारण कर्मचारीहरुको कार्यशैली पनि भएको संकेत गरेका छन् ।

सरकारलाई अप्ठेरो छ, कर्मचारीहरु अलिकति जोखिम उठाउन पनि तयार छैनन्, थोरै मात्रै पनि जोखिम उठायो भने कतिबेला कसको जागिर जाने हो, को गिरफ्तार हुने हो, के हुने हो भन्ने आतंक छ उनले भनेका छन् ।

प्रधामनन्त्री प्रचण्डले सरकार साथमा भएकाले कर्मचारीहरुलाई नडराउन भनेको बताए । ‘तपाईंहरुलाई केही पर्‍यो भने सरकार बचाउन आउँछ, म भनिरहेको हुन्छु, भन्दा भन्दै फेरि अन्यायपूर्ण तवरले कर्मचारी गिरफ्तार पनि भइरहेका छन् । यो जटिलता पनि छ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

पूर्वसचिव तथा लोसकेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली कर्मचारी जोखिम देखाएर गर्नैपर्ने निर्णय समेत पन्छाइरहेका बेला प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम नगरी त्रसित कर्मचारी देखाएर पन्छिरहेको मान्छन् । ‘कर्मचारीहरुले डराएर निर्णय लिनै छाडेको सत्य हो,’ उनी भन्छन्,‘कानुन संशोधन गरेर हुन्छ, नीतिगत निर्णय गरेर हुन्छ, समन्वय र छलफल बढाएर वा जे गरी हुन्छ त्यही गरेर प्रधानमन्त्रीज्यूले कर्मचारीलाई उत्प्रेरित गर्नुपर्छ ।’