पत्रकारले कान्तिपुर मिडिया ग्रुपकाे गेटमा थाले धर्ना
३० आश्विन २०८०, मंगलवार १६:५४
नेपाल पत्रकार महासंघको आयोजनामा निष्कासित पत्रकारहरूले कान्तिपुर मिडिया ग्रुपको गेटमा धर्ना थालेका छन्।
मंगलबार कान्तिपुरले गैरकानुनी रुपमा सरुवा गरेको, निष्कासित गरेको भन्दै उनीहरूले धर्ना दिएका हुन्। उनीहरूको आन्दोलनमा श्रमजीवी(पत्रकार संघलगायत अन्य मिडियामा कार्यरत पत्रकारहरूले ऐक्यबद्धता जनाएका छन्।
कान्तिपुरका पीडित पत्रकार प्रज्वल ओलीले कान्तिपुर मिडियाले ८६ जना पत्रकारहरूलाई सरुवा, निष्कासन गरेको जानकारी दिए। ‘कान्तिपुरले ८६ जना पत्रकारलाई सरुवा गर्ने र निष्कासन गरेको छ,हाम्रो माग पूरा नहुञ्जेल आन्दोलन रोकिँदैन,’उनले भने।
उनीहरूले पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठानले असोज १२ गते व्यवस्थापनसमक्ष बुझाएको १२ बुँदे मागपत्र र महासंघ केन्द्रीय कार्यालयले जनाएको प्रतिबद्धतालाई कान्तिपुरले बेवास्ता गरेको बताएका छन्। कान्तिपुर व्यवस्थापन र पत्रकार महासंघको शाखाबीच भएको ७ बुँदे सहमतिमा पनि उनीहरूले अस्वीकार गरेका छन्।
आइतबार कान्तिपुर व्यवस्थापन र महासंघ शाखाबीच पत्रकारहरूलाई न्यूनतम अवकाश प्याकेज दिने सहमति भएको थियो। तर त्यहाँकै पत्रकारहरूले उक्त सहमतिलाई अस्वीकार गरेका छन्। त्यसपछि उनीहरू विरोधमा उत्रिएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया