हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउनै मुस्किल
२९ आश्विन २०८०, सोमबार १५:०६
सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ ।
मौसमको प्रतिकूलता र एअरलाइन्सहरुको सीमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्यून हुनु, निजी एअरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर्ड उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा नागरिकलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।
नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि नागरिकले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त बिचौलियालाई । सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ ।
सुत्केरी गराउन नेपालगञ्ज आएकी लुम्बिनी प्रदेश पूर्वीरुकुमकी टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहनुभएको छ । नेपालगञ्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन । रुकुमपूर्व सिस्ने गाउँकी टीका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगञ्ज आउनुभएको थियो । १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यताउता गरिरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ ुफ्लाइट पनि गाह्रो छ । पाइँदैन । उतै अपरेसन भए पनि ब्लड पाइँदैन । आईसीयू छैन । सेवासुविधा केही पनि छैन । सके पनि नसके पनि यही ९नेपालगञ्ज० आउनैपर्ने बाध्यता छ । अब यहाँ यत्तिका समय भइसक्यो फ्लाइट नै पाइँदैन ।’
पूर्वीरुकुम पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर ८ की निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगञ्ज आउनुभयो । जुम्ल्याहा नानीहरुकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुङ्गो छैन । एक महिना भइसक्यो नेपालगञ्ज होटलमा बसेको अझै कतिदिन बस्नुपर्ने हो भन्ने पिरलो उहाँमा पनि देखिन्छ ।
निशाले भन्नुभयो ‘म डेलिभरीको लागि यहाँसम्म आएको हो । पूर्वी रुकुमदेखि पश्चिम पठाइदियो । दुईवटा बच्चा छ नेपालगञ्ज जानुपर्छ भनेका कारणले यहाँसम्म आएको । यहाँ आएपछि । अप्रेसन भयो । ४ दिन हस्पिटल बसेको हो । अनि होटलमा एक महिना बस्यौ । अब घर जान लागेको । जहाजको टिकट मिल्दैन भन्नुभएको छ ।’
कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका वडा नम्बर ४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउनुहुन्छ । कसैलाई भनसुन नगरि हवाई उडानको टिकट पाउन नसकिने अनुभव उहाँको छ ।
शाही भन्नुहुन्छ ‘नेपाल वायुसेवा निगमले नियमति उडान गर्ने हो भने पनि निजी एअरलाइन्सको भर पर्नुपर्ने थिएन । नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ । मुख्य समस्या यही हो । प्राइभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन् । मुख्य कुरा टिकट नै पाइँदैन । सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन । च्यानलमा जानुपर्छ । नेताको ज्याक लिएर जानुपर्छ । टिकट पाउन बहुत गारो छ । विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउँला रु’

फेसबुकबाट तपाईको प्रतिक्रिया