धर्नारत आरती साहका आमाबुवा र भाइलाई प्रहरीले माइतीघरबाट उठायो
२७ आश्विन २०८०, शनिबार १४:४९
आरती साहलाई न्यायको माग गर्दै १२१ दिनदेखि धर्नामा बसेको पीडित परिवारलाई प्रहरीले माइतीघरबाट उठाएको छ।
प्रहरीले आरतीको आमाबुवा र भाइलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगेको हो।
दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत गत असार १ गतेदेखि निरन्तर काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बस्दै आएको थियो
गत बुधवार राति १० बजेतिर ४ जनाको प्रहरी समूह आएर आफूहरूलाई घेरेको र मोबाइल फोन प्रहरीलाई बुझाएको आरतीको भाइले बताएका छन्।
आज बिहान मुचुल्का उठाउन आएको प्रहरीले ब्यानर पनि च्यातिदिएको छ।
उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गरेको छ। यसबिरुद्ध पनि आरतीको परिवारले अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
आरतीका बुबा विनोद साहले दिएको जाहेरीमा पति मोतिबाबु र ससुरा मदन मोहनले कर्तव्यज्यान गरेको भन्ने कुरामा आधार प्रमाण नदेखिएको उच्च अदालतको ठहर छ।
जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका( ९ थापाचोकमा मृत फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति र ससुरालाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया