तीनकुनेमा चारजनाको हत्या गरेका भण्डारीको बयान प्रहरीलाई खबर गर्ने व्यक्तिलाई नमारेकोमा पछुतो छ
२६ आश्विन २०८०, शुक्रबार १५:३०
काठमाडौँ-काठमाडौंको तीनकुनेमा भदौ २९ गते चार जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तको आज जिल्ला अदालत काठमाडौंमा बकपत्र गराउने कार्य सुरु भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर बुधबार प्रतिवेदन बुझाएको थियो । त्यसको भोलिपल्ट जिल्ला सरकारी वकिल कायार्नलय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
आइतबारदेखि अदालतमा नियमित मुद्दाको सुनुवाइ नहुने भएकाले यो मुद्दामा थुनछेक आदेश आजै गराउने सम्भावना छ । त्यसका लागि अदालतले दोभासे झिकाएको छ ।
तीनकुने गैह्रीगाउँस्थित काष्ठ उद्योगभित्र दोलखाको कालिञ्चोक गाउँपालिका ८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनका श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भीरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका २ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो ।
उनीहरूको हत्या अभियोगमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ९ का २३ वर्षीय सञ्जय भण्डारी पक्राउ परेका छन् ।
उनले आफूले घटना घटाएको पक्राउ पर्नासाथ स्वीकार गरेका छन् । यस्तै उनले पछि अनुसन्धान अधिकारी समक्ष गरेको बयानका क्रममा पनि घटना स्वीकार गर्दै कसरी घटाए भन्ने पनि विस्तृतमा खुलाइदिएका छन् ।
बोल्न र सुन्न नसक्ने भण्डारीको बयान दोभाषे मार्फत र लिखित रुपमा गराइएको थियो । उनले सुन्न नसक्ने व्यक्ति पढ्ने विद्यालयबाट कक्षा १२ सम्म अध्ययन पूरा गरेका छन् ।
भण्डारीलाई घटनाको दुई दिनपछि भदौ ३१ गते काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो । घटनामा प्रयोग गरिएका हतियार र त्यतिबेला लगाएका लुगासमेत प्रहरीले बरामद गरिसकेको छ ।
प्रहरी सामु बयान दिँदा उनले भनेका छन्, ‘सामाजिक विभेदका कारण म निर्दयी छु । कसैप्रति माया ममता जाग्दैन । विगतमा पनि यस्ता घटना धेरै घटाएको छु । तीनकुनेमा चार जनाको हत्यापछि त्यहीँको कोठामा गएर आराम गरेँ । आराम गर्दा केही समय निदाएँ, खासै असहज महसुस भएन ।’
बहिराहरूप्रति गरिने सामाजिक विभेदको कारण काठमाडौंका रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि विभिन्न व्यक्तिको हत्या गरिसकेको उनको बयान छ ।
‘मैले यी ठाउँमा मारेको मान्छेहरूलाई म चिन्दिनँ । सबैलाई धारिलो हतियार प्रयोग गरी मारेको छु । मारेको मिति थाहा छैन । अनुसन्धान गर्ने काम प्रहरीको हो’, उनले थप बयानका क्रममा भनेका छन्।
यस्तै उनले अरु केही व्यक्तिलाई मार्ने विषयमा म्यासेजमा कुरा गरेको पनि फेला परेको छ । तर ती व्यक्तिलाई मारिनसकेको उनले बयान दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया