प्रदेश सरकारले रोयल्टी दोब्बर गर्दा कैलालीमा नदीजन्य वस्तुको सकस – Nagarikabhiyan : National News

प्रदेश सरकारले रोयल्टी दोब्बर गर्दा कैलालीमा नदीजन्य वस्तुको सकस

कैलालीमा नदीजन्य वस्तुको ठेक्का गर्न समस्या भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले नदीजन्य वस्तुको रोयल्टी दोब्बर गरेकाले ठेक्का सम्झौतामा स्थानीय तहहरूलाई सकस भएको हो।
जिल्लाका धेरै स्थानीय तहले नदीजन्य वस्तु गिट्‍टी, बालुवा र ढुङ्गा सङ्कलनको ठेक्का गर्न सकेका छैनन्। प्रदेश सरकारले रोयल्टी महँगो तोकेको भन्दै कम्पनीहरूले टेन्डर नदिएका हुन्।

आर्थिक वर्ष २०७९र८० मा ११९ रुपियाँप्रति घनमिटर दर कायम भएकोमा चालु आर्थिक वर्षमा २३९ रुपियाँ प्रतिघनमिटर निर्धारण गरिएको हो। आव २०८०र८१ का लागि सुदूरपश्चिम सरकारले आर्थिक विधेयकमै नदीजन्य पदार्थको रोयल्टी निर्धारण गरेपछि सोही आधारमा स्थानीय तहले ठेक्का प्रक्रियाबाट काम थालेका हुन्।

असोजदेखि अर्को जेठ महिनासम्म नदीजन्य पदार्थ उत्खननका लागि स्थानीय तहले ठेक्का आह्वान गर्दै आएका छन्। गत वर्षभन्दा दोब्बरले रोयल्टी बढेपछि कैलालीका स्थानीय तहहरूलाई ठेक्का आह्वान गर्नसमेत समस्या भएको छ। जिल्लाको गौरीगंगा नगरपालिकाले दोस्रो पटकका लागि टेन्डर खोलेको छ। दुई करोड ४२ लाखमा आह्वान गरिएको टेन्डरमा निर्माण कम्पनीहरूले इच्छा देखाएनन्।

ढुङ्गा, गिट्‍टी, बालुवा, रोडा, स्लेट लगायत उत्खननबाट प्राप्त हुने रोयल्टी सङ्कलनको दर दोब्बरले बढाइएको हो। तराइँमा नदीजन्य पदार्थ सङ्कलन गर्दा प्रतिघनफिट ६ रुपैयाँका दरले रोयल्टी निर्धारण गरेको छ। यसअघि प्रतिघनफिट तीन रुपैयाँका दरले रोयल्टी सङ्कलन हुँदै आएको थियो। प्रदेश सरकारले रोयल्टी सङ्कलनको दर दोब्बर बनाएपछि स्थानीय तहहरूले प्रतिट्याक्टर ६ सय रुपैयाँ रोयल्टी लिँँदै आएकोमा चालु आर्थिक वर्षदेखि एक हजार दुई सय रुपैयाँ रोयल्टी लिन थालेका छन्।