शिशु बिक्री प्रकरण चिकित्सकसहित ३ जनालाई थुनामा राख्न आदेश
२४ आश्विन २०८०, बुधबार १९:४८
नवजात शिशु निःसन्तान दम्पतीलाई मोटो रकममा बिक्री गरेको अभियोग लागेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । ६८ वर्षीय कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट हुन् ।
न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डा। कर्णसहित शिशु खरिद गर्ने मोरङ कटहरी गाउँपालिका –२ आर्दशटोलका सूर्यनारायण राजवंशी र शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका –४ का गोविन्द राईलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार आदेशपछि तीनै जनालाई जिल्ला कारागार मोरङ चलान गरिएको छ । मुद्दामा अभियुक्त बनाइएका सिरहा घर भई विराटनगर(११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, मोरङको कटहरी(२ की ३३ वर्षीया सुधा भनिने शुक्री राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई धरौटी रकम लिएर छाड्न अदालतले आदेश दिएको छ ।
शुक्रीसँग २ लाख, निर्मलासँग १ लाख र दिलमनीदेवीसँग १० हजार रूपैयाँ धरौटी माग गरिएको सूचना अधिकारी सुवेदीले बताए । उनका अनुसार तीनै जना धरौटीवापतको रकम बुझाएर छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय मोरङले ६ जनालाई अभियुक्त बनाएर अपहरण तथा व्यक्ति बेपत्ता पार्ने कसूरमा सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो। अभियुक्तमध्ये डा। तपेश्वर र गोविन्दलाई भदौ १ गते तथा अरुलाई भदौ ५ गते पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो ।
प्रहरीले अभियुक्तविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूर, मानव बेचबिखन र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर, वकिल कार्यालयले मानव बेचबिखन र संगठित अपराधमा मुद्दा चलाएन। अपहरण र व्यक्ति बेपत्ता पारेको कसूरमा मात्रै मुद्दा चलायो ।
डा। कर्णले पछिल्लो पटक अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई मोरङको कटहरी गाउँपालिका–२ आदर्शटोलका सूर्यनारायण राजवंशीको निसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएपछि प्रहरीले उनीसहित अपराधमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया