दशैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ – Nagarikabhiyan : National News

दशैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ

काठमाण्डाै –दशैँलाई लक्षित गरेर सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।
अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् ।

समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दशैँको मुखमा खोल्दा यात्रुलाई दोब्बररतेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ । यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँछन् ।

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताउनुहुन्छ। देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा गाडी दुर्घटनाको जोखिम रहेको उहाँको भनाइ छ । दशैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ, उहाँ भन्नुहुन्छ।
महासङ्घका अनुसार अहिले मुग्लिङ–पोखरा, नारायणघाट–बुटवल वीपी, अरनिको, ढल्केवर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन् ।

यस्तै काठमाण्डौबाट नुवाकोट हुँदै रसुवासम्म जाने बाटोसमेत बिग्रेको छ । सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत गाडीलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ ।

वरिष्ठ उपाध्यक्ष सिटौला पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैंकको ब्याजदर, लुब्रिकेन्ट टायर, तलब भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको बताउनुहुन्छ ।महासङ्घले बाटोसहित भाडा समायोजनको मुद्दालाई समेत अगाडि बढाउँदै आएको छु, उहाँ भन्नुहुन्छ ।

बाटोको अवस्था राम्रो भए आफूहरुलाई अग्रिम टिकट बुकिङ खोल्न कुनै आपत्ति नरहेको उहाँको भनाइ छ । दशैँको समयमा काठमाण्डौ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराब अवस्थाका गाडीका कारण दुर्घटनाको जोखिम रहन्छ । कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्याउन सकिन्छ भन्नेबारे अहिलेदेखि नै तयारी हुनुपर्छ ।

यातायात व्यवस्था विभागले चाँडै नै अग्रिम टिकट बुकिङ खोल्नेबारे सरोकारवाला निकायसँगको छलफल शुरु गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल अग्रिम टिकट बुकिङको बारेमा विभाग चाँडै निष्कर्षमा पुग्ने बताउनुहुन्छ । ुहामीले सकेसम्म आजै अग्रिम टिकट बुकिङबारे निर्णयमा पुग्छौँ  उहाँ भन्नुहुन्छ ।

महानिर्देशक रिजालले नेपालको सार्वजनिक यातायातको सङ्ख्या र यात्रुको चापलाई हेरेर विभाग अगाडि बढ्ने बताउनुहुन्छ । विभागले चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने जनाएको छ । ट्राफिक प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ ।