डाक्टर कुट्नेलाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने चेतावनी‚ चिकित्सक संघ अलमलमा – Nagarikabhiyan : National News

डाक्टर कुट्नेलाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने चेतावनी‚ चिकित्सक संघ अलमलमा

काठमाडौं :पछिल्लो समय हेटौंडा‚ लमजुङ‚ पोखराका लगायतका स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनालाई लिएर चिकित्सकहरू आन्दोलित छन्।
अस्पताल कार्यकक्षभित्रै लगातार चिकित्सकमाथि आक्रमण भएको विरोधमा नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारी आन्दोलन गरेको थियो। सरकारसँग दुईबुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो।

आवासीय चिकित्सकहरू भने दुईबुँदे निर्णयप्रति असहमति जनाउँदै चार दिनदेखि आन्दोलनरत छन्। उनीहरूले शुक्रबार पनि सेवा ठप्प पारेर माइतीघर पुगेर प्रदर्शन गरे।​

विशेषगरी उपत्यकाका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  न्याम्स‚ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०‚ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका सरकारी कलेज तथा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजका आवासीय चिकित्सकहरूको नेतृत्वमा भइरहेको आन्दोलनमा देशभरका आवासीय चिकित्सकहरूको साथ रहेको छ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा। शेषराज घिमिरेले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न बनाइएको कानून प्रभावकारी रूपमा कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी रहने बताए।

उनले दोषीलाई सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। दोषीलाई संरक्षण गर्न नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा राज्य मूकदर्शक बन्न नहुने उनको भनाइ छ।

‘चिकित्सकमाथि बारम्बार हुने आक्रमण हामीलाई मान्य हुँदैन। आक्रमणकारीमाथि कारबाही नहुँदासम्म हामी आन्दोलन रोक्दैनौं’‚ उनले भने।

स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन्।

यस्तै उनीहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पटक पटक कुटिनुका कारण पहिचान गरी निराकरण गर्न उच्चस्तरीय समिति गठन गर्ने र सो समितिले बुझाएका सुझाव पालना गर्न प्रतिबद्धता दिलाउनुपर्ने, अस्पतालभित्र स्वास्थ्य सुरक्षा प्रहरीबलको तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल प्रमुख नजिकैको प्रहरी कार्यालय प्रमुख, उपभोक्ताको प्रतिनिधि र कानूनी अधिकारी सहितको समन्वयन समिति गठन गर्ने र सो समितिले नियमित कार्य गर्न सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्।

असोज ७ र ८ गते चितवन, लमजुङ, कास्की र ललितपुरका अस्पतालहरूमा उपचारका क्रममा लापरबाही भएको भन्दै बिरामीका आफन्त बताउने समूहले उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

त्यसअघि मोरङ, कञ्चनपुर तथा मकवानपुरको हेटौंडामा पनि यस्तै आक्रमण भएको थियो।