विराटनगरमा एमाले कोशी प्रदेश अधिवेशनको रौनक बहसमा पहिचान मुद्दा – Nagarikabhiyan : National News

विराटनगरमा एमाले कोशी प्रदेश अधिवेशनको रौनक बहसमा पहिचान मुद्दा

विराटनगर – नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार र शनिबार विराटनगरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर दिइएको छ ।
कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले अधिवेशन भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । अधिवेशनका लागि प्रदेशभरबाट १०५० प्रतिनिधि छनौट हुनेछन् । तर अहिलेसम्म मनोनित गर्ने प्रतिनिधिबारे अन्तिम निर्णय नभएकोले यसको केहि संख्या घट्ने अध्यक्ष न्यौपाने बताएका छन् ।

प्रदेश संरचना बनेपछि एमालेको यो पहिलो नेतृत्व छनौट गर्ने अधिवेशन हुँदैछ । विराटनगरमा आयोजना हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मनास्लु होटलमा गर्नेछन् । अधिवेशनका लागि १२ उपसमिति गठन गरिएको छ ।
पाँचजना पदाधिकारी अध्यक्ष, उपाध्यक्ष सचिव र दुई उपसचिवसहित २१५ जनाको प्रदेश कमिटि गठन हुनेछ । अध्यक्षका लागि चुनावी मैदानमा बिनोद ढकाल, घनश्याम खतिवडा उमेदवार हुने देखिएको छ ।
अध्यक्ष न्यौपानेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने यदि नभएमा निर्वाचनको प्रक्रियाबाट टुङ्गो लगाउने जानकारी दिए ।