पुर्विचौकी गाउँपालिकाका विद्यालयहरूमा राजनीति हाबी हुँदै, विद्यार्थी पुस्तक हैन बोक्छन् पार्टीको झन्डा – Nagarikabhiyan : National News

पुर्विचौकी गाउँपालिकाका विद्यालयहरूमा राजनीति हाबी हुँदै, विद्यार्थी पुस्तक हैन बोक्छन् पार्टीको झन्डा

पुजा माझी –विद्यालयमा राजनीति हाबी हुनु कुनै नौलो कुरा मानिँदैन तर माध्यमिक तहका स–साना बालबालिकामा राजनीतिक शिक्षा दिँदै पार्टीको झन्डा बोकाउने कार्य निन्दनीय छ । केही सङ्घसंस्थाका भातृ निकायका कार्यकर्ता भनिदा युवाहरूले पछिल्लो समय आफ्नो राजनीतिक अखडाका रूपमा ग्रामीण भेगका माध्यमिक कक्षाका विद्यार्थीहरू रोजेको पाइएको छ ।

विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियानका नाममा सक्रिय केही युवाहरूले सुदूरपश्चिम डोटी जिल्लाका पुर्विचौर्की गाउँपालिका लगायत विभिन्न पालिकामा अवस्थित विद्यालयमा आफ्ना चञ्जाल फैलाएको पाइएको छ । उनीहरूले डोटी जिल्लाका पुर्वीचौकी गाउँपालिका, के आई सिं गाउँपालिका लगायतका विभिन्न स्थानमा अवस्थित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई राजनीतिको सिकार बनाएका छन् ।

विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियानका नाममा स–साना विद्यार्थीहरूलाई राजनीतिमा होम्न खोज्नेहरूमा प्रदेश युवा परिषद् जिल्ला सशक्तीकरण समिति डोटीका अध्यक्ष प्रकाश जोशी, डोटी जिल्लाका स्थानीय पूर्ण बहादुर बोहरा, अनेरास्ववियु डोटीका इन्चार्ज बिर बहादुर थापा लगायत विभिन्न व्यक्तिहरूको सक्रियता देखिएको छ ।

जसमध्ये प्रदेश युवा परिषद् जिल्ला सशक्तीकरण समिति डोटीका अध्यक्ष प्रकाश जोशीले आफू यस विषयमा जानकार नभएको बताएका छन् । यद्यपि, उनको फेसबुक पोष्टमा विद्यार्थीहरूलाई समिति गठन गरेर सफल कार्यकालको शुभकामना सहितका फोटाहरू भेट्न सकिन्छ । उनले भने, ‘म केही काम विशेषले बाहिर आएको छु । त्यहाँ केही साथीहरू खटिनुभएको छ तर मलाई यो विषयमा केही पनि थाहा छैन ।’

उनले आफूहरूले प्लस टु लेभलको विद्यार्थीहरूका लागि मात्र उक्त अभियान सञ्चालन गरेको बताए तर विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियानमा माध्यमिक तहका स–साना विद्यार्थीहरूलाई प्राथमिकतामा राखेको देखिन्छ ।

२०८० भदौ २२ गते शुक्रवारका दिन डोटी जिल्लाको पुर्विचौकी गा।पा अन्तर्गत श्री शिशु सुधार माध्यमिक विद्यालयमा विद्यार्थीसँग अखिल क्रान्तिकारी इकाई कमिटी भन्दै स्थानीय मीन थापाको नेतृत्वमा ४७ जना विद्यार्थीहरूलाई सदस्य बनाइयो । उक्त कुराको जानकारी हामीलाई जिल्ला अध्यक्ष समेत रहेका जोशीको फेसबुक पोस्टबाट नै मिल्यो ।

आफ्ना विद्यालयका विद्यार्थीहरूलाई केही सङ्गठनधारी युवाहरूले प्रयोग गरेर कमिटी गठन गरेको बारे श्री शिशु माध्यमिक विद्यालयले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, भदौ २२ गते शुक्रवार २ बजे नै विद्यालय औपचारिक रूपमा बन्द गरिएको थियो । नेकपा माओवादी केन्द्रका भातृसंगठनका एक जना कार्यकर्ताले घर जाँदै गरेका विद्यार्थीहरूलाई फर्काएर विद्यालयको अनुमति बिना विद्यालयीय प्राङ्गणको प्रयोग गरेर विद्यार्थी सङ्गठन चयन भएको र यस विषयमा सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी भएको प्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस कार्यमा विद्यालय परिवारको कुनै संलग्नता नरहेको जानकारी गराउँदछौ ।’

यसै विषयमा बोल्दै पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले पालिकाबाट यो अभियान तत्काल रोक्नको लागि पत्र पठाएको बताए । उनले भने, ‘पालिकाबाट यो अभियान रोक्नको लागि उनीहरूलाई पत्र काटेर पठाएका छौँ । अब तत्काल यो कार्य नरोकिएमा हामी कारबाहीको प्रक्रिया अगाडी बढाउँछौँ ।’

यद्यपि, बालबालिकाहरू विद्यालयीय पोसाकमा संघसंगठनको चिनारीसहित फोटोमा देखिएका छन् तर यसमा विद्यालय र अभिभावक लाई कुनै जानकारी नदिई विद्यार्थी सङ्गठन गरेको देखियो ।