तीज कार्यक्रममा झडप हुँदा एक युवकको मृत्यु, चार जना पक्राउ – Nagarikabhiyan : National News

तीज कार्यक्रममा झडप हुँदा एक युवकको मृत्यु, चार जना पक्राउ

पाल्पामा एक जना युवाको हत्या भएको छ । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका(२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् ।

उनका अनुसार सोमबार राति साढे १० बजे तिनाउ–२ कै घोडेबासमा स्थानीय भेला जम्मा भई भइरहेको तीजको नाचगानमा सुनिल र उनका साथीबीच सामान्य झगडा भएको थियो । सोही विषयमा त्यही मध्यराति साढे १२ बजेतिर पुनः झैझगडा, कुटपिट हुँदा सुनिल गम्भीर घाइते भएका थिए । उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिए पनि आज बिहान पौने २ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको प्रहरी टोलीले कुटपिटमा संलग्न आशंका गरिएका ४ जनालाई पक्राउ गरेको हो ।