काउली धमाधम रोपाई
२३ कार्तिक २०७७, आईतवार २०:१२
जयकृष्ण यादव : इनरुवा
इनरुवा । सुनसरीका किसानहरु काउली तरकारी खेती तर्फ आक्रर्षित भएका छन् । यहाँका किसानहरुले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएकोमा अहिले मौसमी काउली र बन्दा कोवी रोपाईमा व्यस्त भएका छन् ।
तरकारीका लागि उर्वरभूमि मानिएको सुनसरीको विभिन्न नगरपालिका र गाउँपालिकामा किसानहरुले वर्षा नभएको मौकामा अहिले मौसमी काउली र बन्दा कोवी रोपाईमा व्यस्त भएका छन् ।
एक महिना अघि आएको बाढी र वर्षाका कारणले केही किसानको बेर्ना नै सखाव भएकाले भदौ दोस्रो साताबाट मात्रै काउली र बन्दा कोवी रोपाई थालेका कृषि सेवा केन्द्र हरिनगरका कृषि प्राविधिक भुवनेश्वर यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार जिल्लाको हरिनगर गाउँपलिकाको गौतमपुर, रामनगरभुटाहा, बसन्तपुर, घुस्की र हरिनगरा क्षेत्रका किसानहरु अहिले मौसमी काउली र बन्दा कोवी रोपाईमा व्यस्त भएका छन् ।
जिल्लामा ८ हजार हेक्टर क्षेत्रफलमा तरकारी बाली लगाउदै आएकोमा अहिले रामनगरभुटाहा क्षेत्रमा मात्र ै ६० हेक्टर क्षेत्रफलमा मौसमी काउली र बन्दा कोवी रोपाई गरेको हरिनगर गाउँपालिका १ नम्बर वडा अध्यक्ष अवदुल लतिफ अंसारीले जानकारी दिनुभयो ।
अंसारीका अनुसार सिंचाई सुविधा नभएपनि भूमिगत पानीको आशमा तरकारी बाली लगाउन सिकानहरु व्यस्त भएका छन् । केही किसानले खुर्सानी, भाण्टा, काउली र बन्दा कोवी रोपाई गरेका छन् भने केहीको वेर्ना तयारी भईरहेको अंसारीले बताउनुभयो ।
रामनगरभुटाहामा मलाहा र मुस्लिम समुदायका किसानहरु बढी मात्रामा काउली , भाण्टा र बन्दा कोवी रोपाई गरेका अंसारीले जनाकारी दिनुभयो ।
गाउँका धेरै किसानहरु धान नहुने खेतमा अहिले मौसमी काउली, भाण्टा, खुर्सानी र बन्दा कोवी रोपाईमा व्यस्त बनेका किसान अनिरुद्ध गुप्ताले बताउनुभयो ।
किसानहरु तरकारी बाली लगाउन तर्फ व्यस्त भएपनि बजार अभावमा लामो समयदेखि किसानहरुले सस्तोमा उत्पादन बेच्न बाध्य भएकाले तरकारी भण्डार केन्द्र स्थापना गर्नुपर्ने माग उठाएको वडा अध्यक्ष अंसारीको भनाई छ ।
अहिले रोपेको अहिले मौसमी भाण्टा, खुर्सानी , काउली र बन्दा कोवी दशैमा उत्पादन हुने किसानको तर्क रहेको छ । रोपाई गरेको तरबारी बालीमा मौसमले साथ दिएको खण्डमा दशैको बेलामा तरकारी बजार आउने र लगानी अनुसारको प्रतिफल समेत पाउने किसान शंकर गुप्ताको आश रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया