कपिलेश्वरनाथ मन्दिरको गरिमा उजागर गर्न स्थानीयहरु अग्रसर
२२ कार्तिक २०७७, शनिबार २०:३४
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ मा अवस्थित प्राचिन कपिलेश्वरनाथ महादेव मन्दिरको गरिमा उजागर गर्न स्थानीयवासीले अग्रसरता देखाएका छन् ।
कपिलेश्वरनाथ महादेव मन्दिरमा रहेको शिवलिंग प्राचिलन कालिन रहेपनि यसको ऐतिहासिकता ओझेलमा परेको भन्दै स्थानीयवासी अग्रसर भएका हुन् । स्थानीय कपिलेश्वरनाथ युवा क्लवको अगुवाईमा आज (शनिबार) आयोजना गरिएको एक पत्रकार सम्मेलनमा स्थानीयवासीहरुले यो मन्दिरको धार्मिक महत्व तथा ऐतिहासिकता बचाउनका लागि मन्दिरको विकास र संरक्षणको माग गरेका छन् ।

त्रेता यूगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वर नाथ महादेव मन्दिर पनि एक हो । स्थानीयवासीका अनुसार कपिलेश्वरनाथ महादेव मन्दिरमा हालसम्म १८ वटा महन्थ भईसकेका छन् ।
पत्रकार सम्मेलनमा सहभागी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ का वडाध्यक्ष रामअशिष पजियारले कपिलेश्वरनाथ मन्दिरको संरक्षण विकासको काम स्थानीयवासीको अग्रसरता तथा चन्दा संकलन गरेर हुँदै आईरहेको जानकारी दिए । उनले यो प्राचिन शिवलिंग रहेपनि मन्दिरको विकास तर्फ न त प्रदेश सरकारले न जनकपुरधाम उपमहानगरपालिकाले नै चासो देखाएको आरोप लगाए ।
कपिलेश्वरनाथ यूवा क्लवका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्दिरको ईतिहासका बारेमा स्थानीयवासी श्याम पूर्वे, मन्दिरका पूजारी लालबाबु साहलगायतकाले जानकारी दिएका थिए ।
वि.सं. १९९० सालमा आएको भूकम्पमा मन्दिर भत्किएपछि त्यहाँ रहेको अभिलेख तथा त्यहाँका बहुमूल्य मूर्तिहरु कहाँ लगियो यस विषयमा कसैलाई कुनै जानकारी नरहेको र यसको खोज अनुसन्धान हुनु आवश्यक रहेको स्थानीयवासीहरुको भनाई थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया