सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
३ बैशाख २०८०, आईतवार १७:०८
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा आईसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोनाभाइरस संक्रमित ७३ वर्षीया एक महिलाको मृत्यु भएको छ। झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो।
प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार पीसीआर पद्धतिबाट गरिएको नमुना परीक्षणमा नतिजा ‘पोजिटिभ’ आएपछि ६ दिनअघि उनलाई अस्पतालको कोभिड वार्डको आईसीयूमा भर्ना गरिएको थियो।
ती महिलामा मुटुरोगको समस्या थियो। सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोनाभाइरसको संक्रमणदर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकानुसार पछिल्लो ११ दिनमा प्रदेशमा २२३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ।
यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमुना परीक्षण गरिएको छ। संक्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया