त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित – Nagarikabhiyan : National News

त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार निर्देशिकामा स्ववियु चुनावको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ । स्ववियु कार्यतालिका चुनाव मितिभन्दा एक महिना अगाडि प्रकाशन गर्ने त्रिविले जनाएको छ ।

त्रिविले चुनाव कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अरुको हकमा कार्यतालिका प्रकाशित भएको मितिभन्दा दुई दिनअघिसम्म भर्ना भएका विद्यार्थी मात्र मतदाता नामावलीमा सहभागी हुने पाउने व्यवस्था गरेको छ । कुनै पनि तहको अन्तिम सेमेष्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी चुनावमा सहभागी हुन नपाउने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकामा एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थी चुनावमा सहभागी हुन नपाइने उल्लेख छ । तर विषय परिवर्तन गरी अध्ययन गर्न नियमित विद्यार्थीका रूपमा क्याम्पस भर्ना भएका विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश गरिने र प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश नगरिने भएको छ ।

त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा चुनाव गरिन थालिएको हो । निर्देशिकामा २०५१ साल चैत १८ गते र त्यो भन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था छ । त्रिविले आउँदो चैत ५ गते देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव गर्दै छ ।