‘माघ निगल्दो पनि हुस्सु र स्याँठ’ – Nagarikabhiyan : National News

‘माघ निगल्दो पनि हुस्सु र स्याँठ’

महोत्तरी । तराईमधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन्।  मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरु यसपाली मौसम फरक परेकामा छक्क परेका छन्।

‘बाँचीवर्ती रहे भोग्न, देख्न पाइने रे’छ, माघ निगल्दो चिस्यो स्याँठ र दिउँसै रात पार्ने हुस्सु देखे, भोगेको त्यति सम्झना छैन’, गुहाली (गोठ)को एक छेउमा आगो तापिरहेकी महोत्तरीको बर्दिबास–७ मनहरिपुरकी ७२ वर्षीया इन्द्रमाया पौडेल भन्छिन्, ‘आधा दिन बित्दासम्म के दिन के रात खुट्याउनै नसकिने गरी हुस्सुले डम्म ढाकी राछ।’

शिशिरयाममा जाडो स्वभाविक भए पनि वसन्तपञ्चमीपछि घाम तात्दै जाने अनुभव सँगालेका यस भेगका पाका उमेरका सर्वसाधारण यसपालि मध्य माघयताको बाक्लो हुस्सु र चिसो स्याँठ यसअघि त्यति नव्यहोरिएको बताउँछन्।

ठ्याक्कै वसन्तपञ्चमी मनाइएको तीन दिनपछिदेखि नै फेरि बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ बहन थालेपछि यहाँका पाका उमेरका सर्वसाधारण मौसम उल्टोपाल्टो चल्न थालेको भन्दै छक्क परेका हुन्।

‘हाम्रो चलनमा त तिलासक्रायत (माघेसङ्क्रान्ति) नै घाम तात्न थाल्ने पर्व मानिन्छ, वसन्तपञ्चमी मनाइएपछि त वसन्त नै लागेको मान्ने चलन छ, तर यसपालि त निगल्दो माघले पनि छिप्पिएको पुस सम्झाउँदै छ’, भङ्गाहा–४ रामनगरका ७५ वर्षीय वृदेवसिंह दनुवारले भने।

माघ दोस्रो सातायता पारिलो घाम लाग्न थालेर आकाश खुलेपछि अब जिउ तात्छ भन्ने आश पालेका आपूmहरूलाई माघ तेस्रो साता लागेयता फेरि हुस्सु लाग्न थालेर चिसो स्याँठले सताउन थालेको सो बस्तीकै ८५ वर्षीय हाजी बिहारी अन्सारी बताउँछन्। ‘खै वसन्तपञ्चमी मनाइएपछि त हुस्सु फाट्दै गएर आकाश सफा र उज्यालो हुन्थ्यो, अहिले त फेरि पुसको स्याँठ र हुस्सु पो दोहोरियो’, उनले भने, ‘खै बाबु, के–के देख्न, भोग्नुपरेको छ को निÛ’

माघको तेस्रो सातायता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले महोत्तरीका गरिब बस्तीका सर्वसाधारणको फेरि बिचल्ली बढेको छ। एक साता पारिलो घाम देख्न, ताप्न पाएका यहाँका सर्वसाधारण माघ तेस्रो सातापछि फेरि बाक्लो हुस्सुले ढाकेर लगातार चिसो स्याँठ बहन थालेपछि बिचल्लीमा परेका हुन्। महोत्तरीका सबैजसो भेगमा अहिले बाक्लो तुवाँलोले डम्म ढाकेर घाम नदेखिएको एक साता भइसकेको छ। जिल्लाको उत्तरीक्षेत्रमा मध्यान्हतिर मधुरो घाम देखिए पनि मध्य र दक्षिणी भेगमा दिउँसो कुनै बेला अक्कलझुक्कलमात्र घाम देखिन्छ।

‘वसन्तपञ्चमी पनि मनाइयो, अब त घाम तात्छन् भन्ने थियो, तर फेरि अँध्यारोले छोप्यो’, चिसो स्याँठबीच घर अगाडि पातपतिङ्गर बटुलेर आगो सल्काएर वरिपरि परिवारजनबीच तातोको सहारा खोजी रहेsf भङ्गाहा–४ पलार बस्तीका ८० वर्षीय चौठी बाँतरले भने, ‘कहीँ काममा निस्कन सकिने छाँट देखिन्न, यही ‘घूर’ (पातपतिङ्गर बटुलेर बालिएको आगो)को सहारा छ।’रासस