राष्ट्रियसभाबाट तीन विधेयक पारित – Nagarikabhiyan : National News

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको तर्फबाट सञ्चार मन्त्री शर्माले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ बैठकको सर्वसम्मतिले पारित गरेको हो  ।

यसैगरी, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पनि बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

यसैबीच, अगामी शुक्रवार दिउँसो ३ः००बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने छ । उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।