तिलोत्तमाका ६० बिघामा चक्लाबन्दी आलु खेती – Nagarikabhiyan : National News

तिलोत्तमाका ६० बिघामा चक्लाबन्दी आलु खेती

रुपन्देही । तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाको रु एक करोड १५ लाख, अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीको रु ९४ लाख र किसानको रु ५२ लाख गरी कूल रु दुई करोड ६१ लाखको लागतमा स्थानीय प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सञ्चालन गरिएको आलुको बिजवृद्धि परियोजनामार्फत् किसानलाई ७५ प्रतिशत अनुदानमा बिउ, मल र कृषि उपकरण उपलब्ध गराइएको छ ।

निर्वाहमुखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न युएनडिपीको सहयोगमा सहकारीमार्फत बिजवृद्धि परियोजना सञ्चालन गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । किसानलाई आलुखेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ गरी चारजना र ‘ग्रीन भोलिन्टियर’ (स्वयंसेवक) ६ जना खटाइएको छ । सामूहिक आलु खेतीको नेतृत्व र व्यवस्थापन प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले गरेको छ ।

यसअघि घरपरिवारको लागि मात्र खपत हुने आलुखेती गर्ने किसानले यो वर्ष परियोजनामार्फत सात बिघासम्मको एउटै प्लटमा आलु खेती गरेका छन् । विभिन्न वडाका २० वटा समूह सामूहिक आलु खेतीमा आवद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताइन् ।