नेपाल–भारत हवाई उडान अझै एक महिना नहुने – Nagarikabhiyan : National News

नेपाल–भारत हवाई उडान अझै एक महिना नहुने

काठमाडौं । नेपाल र भारतबीच अझै एक महिना हवाई उडान नहुने भएको छ । गत वर्ष चैत ११ गतेदेखि रोकिएको हवाई उडान अझै एक महिना शुरु नहुने भएको हो ।

भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज दोस्रो साता एयर बबल स्किममा सहभागी भई भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको थियो ।

मन्त्रालयले कात्तिक १ गतेबाट उडान शुरु गर्ने गरी प्रस्ताव परेको थियो । तर, सो प्रस्ताव कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)बाट मन्त्रिपरिषद् पुगेपनि पास हुन नसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

सोहीकारण तत्काल भारतका लागि नेपालबाट हवाई उडान नहुने भएको हो । यता भारत सरकारले २०२० नोभेम्बर ३० सम्म लागू हुने गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा प्रतिवन्ध लगाएको छ ।