विश्व अर्थतन्त्रमा गहिरो मन्दी र लामो मन्दी हुने विश्व बैंकको प्रक्षेपण
२७ पुष २०७९, बुधबार १६:१४

काठमाडौँ । विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने विश्व बैंकको प्रतिवेदनले देखाएको छ । यो मन्दीको प्रभाव लामो समय रहने पनि बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो संकेत गरेको हो।
विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ। यो विश्व बैंकले ६ महिना अगाडि गरेको प्रक्षेपणको तुलनामा धेरै कम हो। त्यसबेला अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान थियो।
विश्व बैंकका अनुसार नेपालमा भने अहिलेसम्मको अवस्थाबाट अर्थतन्त्र स्थिर रहने अनुमान छ। नेपालले चालु आवमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको प्रक्षेपण छ।
नेपालबारे विश्व बैंकको प्रक्षेपणमा भने परिवर्तन गरिएको छैन। दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष नेपालभन्दा माथि माल्दिभ्स, भारत र बंगलादेशको आर्थिक वृद्धि राम्रो रहने छ। श्रीलंकाको आर्थिक वृद्धिदर भने नकारात्मक नै रहने विश्व बैंकको अनुमान छ।
चालु आवमा सार्क देशमध्ये कुन मुलुकले कति प्रतिशतको आर्थिक वृद्धि होला ?
माल्दिभ्सः ८.२ प्रतिशत
भारतः ६.९ प्रतिशत
बंगलादेशः ५.२ प्रतिशत
नेपालः ५.१ प्रतिशत
भुटानः ४.१ प्रतिशत
पाकिस्तानः २ प्रतिशत
श्रीलंकाः -४.२ प्रतिशत
अफगानिस्तानः तथ्यांक छैन
विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा अहिले रुस–युक्रेन युद्धको प्रभाव बाँकी नै छ। यसले उर्जा र खाद्यान्नको मूल्यमा चर्को चाप परिरहेको विश्व बैंकले जनाएको छ। जसले गर्दा यस भेगका केन्द्रीय बैंकहरुले वित्तीय स्थितिलाई कडाई गर्नुपर्ने बाध्यता देखिएको छ।
भारतलाई उत्पादन क्षेत्रका माध्यमबाट आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ। माल्दिभ्सलाई पर्यटनमा देखिएको पुनरुत्थानले सहयोग पुग्ने प्रक्षेपण रहेको छ। बंगलादेशमा उर्जा संकटका कारण समस्या गहिरिन सक्ने अनुमान गरिएको छ। अफगानिस्तानलाई विदेशी सहायता रोकिएका कारण समस्या गहिरिएको देखिएको छ। नेपाल, माल्दिभ्स र भारतको अर्थतन्त्र यस भेगमा केही हदसम्म स्थिर देखिएको छ।
विश्व अर्थतन्त्रको सन्दर्भमा भने अमेरिका, युरोपेली मुलुक र चीनको अर्थतन्त्र संकटमा जाँदा त्यसले विश्वभरकै अर्थतन्त्रमा मन्दी छाउने अवस्था देखिएको हो। सन् २०२३ मा अमेरिकाको ०.५ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुनेछ। जहाँ की सन् २०२१ मा अमेरिकाको जीडीपी ५.३ प्रतिशतले बढेको थियो। चीनले सन् २०२३ मा ४.३ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ। सन् २०२१ मा उसको वृद्धिदर ८.१ प्रतिशत थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया