प्रचण्डलाई भेट्न बालुवाटार पुगे जगन्नाथ
२२ पुष २०७९, शुक्रबार १२:४०
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग् भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका खतिवडाले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
खतिवडाले समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको जानकारी दिए। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न र विश्वासको मत दिन आग्रह गरेका थिए।
जवाफमा उनले पार्टीमा छलफल जारी रहेकाले केही दिनमा निर्णय गर्ने बताए। उनी प्रचण्डले बोलाएर बालुवाटार गएका थिए।
‘समसामियक राजनीतिक घटनाका विषयमा छलफल भयो। उहाँले आफ्नोतर्फबाट समर्थन गर्नुहोस् भनेर प्रस्ताव गर्नुभयो मैले पार्टीमा छलफल गरेर निर्णय दिन्छौं भनेँ,’ खतिवडाले भने।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन्। सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन प्रयास गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया