लक डाउनमा कडाई गरिएसँगै इनरुवा बजार सुनसान
८ बैशाख २०७७, सोमबार ११:५१
इनरुवा । सरकारले घोषणा गरेको लक डाउनमा कडाई गरिएसँगै सुनसरी सदरमुकाम इनरुवा लगायतका बजार सुनसान देखिएका छन् । प्रहरी प्रशासनले लक डाउनलाई कडाई गर्ने निर्णय गरेसँगै इनरुवा सहित जिल्लाका सबैजसो बजारमा चहलपहल घटेको छ ।
अत्यावश्यक बाहेक मानिसहरु घरबाहिर निस्कन छाडेका छन् । घरबाहिर निस्कने उपर कडाई थालेसँगै हिंडडुल गर्नेको संख्यामा कमी आएको प्रहरीले जनाएको छ । प्रहरीले साँझ विहान लक डाउनलाई थप कडाई गर्ने गरेको छ । अत्यावश्यक बाहेकका सवारी साधन प्रहरीले सडकमा गुड्न दिएको छैन् ।
लक डाउनको उल्लंघन गर्नेहरुको सवालमा नियन्त्रणमा लिई कार्वाही गर्ने गरेको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुभएको छ । प्रहरीको आँखा छली बजार निस्कनेहरु पछिल्लो केहिदिन यता स्वयं घर भित्रै बस्न थालेका छन् ।
कोरोनाको जोखिम बढ्ने क्रमसँगै धेरै हदसम्म मानिसहरु घरबाहिर निस्कन छाडेका समेत छन् । तीन दिनको अवधिमा सुनसरीमा १ सय ८५ जना नियन्त्रणमा लिई कार्वाही गरिएको प्रहरीले जनाएको छ ।
यसैबिच सुनसरीमा समेत प्रहरीले सडकमा बिचल्लीमा परेकाहरुलाई गनतब्यमा पुर्याउन मद्यत गर्न थालेको छ । विभिन्न स्थानबाट सुनसरी आइपुगेका पैदल यात्रुहरुलाई गाडी चढाएर गनतब्य पुग्न सहयोग गर्न थालेको हो । सम्वन्धित क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा चेकजाँच गरी गनतब्य सम्म जाने प्रवन्ध मिलाउन थालिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया