इनरुवाका नगर प्रहरी सहित सरसफाईकर्मी सम्मानित
२९ आश्विन २०७७, बिहीबार २०:१५
इनरुवा । कोरोना संक्रमण नियन्त्रणतर्फ इनरुवा नगर क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका इनरुवा नगरपालिकाका नगर प्रहरी र सरसफाइ कर्मचारी सम्मानित भएका छन् ।
कोरोनाको महामारीमा नगरप्रहरीले गरेको कामले नगर क्षेत्रमा सबैले प्रंशसा गर्दै आएका छन् । उनीहरुले दिनरात नभनिकन नगर क्षेत्रमा सुरक्षा प्रदान गर्नका लागि नगर क्षेत्रमा खटिदैं आएका छन् ।
कोरोनाको महामारीमा उनीहरुले गरेको निकै मेहनतलाइ मध्यनजर गर्दै इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रमका बिच बिहिवार सम्मान गरेको छ ।
इनरुवा नगरपालिकाका स्वास्थ्य शाखाले कोरोनाको जोखिममा पनि नगर प्रहरीले भूमिका खेलेको प्रति प्रशंसा गर्दै उनीहरुको सम्मान गरेको हो ।
चैत ११ देखी सुरु भएको लकडाउन देखी हालसम्म सक्रिय भएर नगर क्षेत्रमा सेवा प्रदान गरिरहेकोले उनीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको इनरुवा स्वास्थ्य शाखाका सन्तोष कुमार देवले बताए ।
नगर प्रहरीसँगै इनरुवामा सरसफाई गर्ने सरसफाईकर्मीलाई समेत सम्मान गरिएको छ । कोरोनाको महामाहरीमा इनरुवालाई सफा, स्वच्छ , वातावरण हराभरा राख्न र फोहोर ब्यवस्थापनमा सहयोग पु¥याउनेहरुलाई पनि एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
“हाम्रो इनरुवा राम्रो इनरुवा” बनाउन सरसफाईकर्मीहरुको पनि अहम भूमिको उच्च मूल्याङ्कन गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले सम्मान गरेको छ ।
नगर प्रहरीको काम कारवाहीले नगरबासी खुशी भएको बताइएको छ । नगरको विकास, सुरक्षा, बजार ब्यवस्थापन लगायतको काममा दिनँहु सक्रिय भएर जिम्मेवारी निर्वाह गरेको प्रति उनीहरुलाई सम्मान गरिएको हो ।
नगर प्रहरीमा पूर्व प्रहरीहरुलाई भर्ना गरिएको र उनीहरुले प्रहरी जस्तै इमान्दार भएर जनताको सेवामा समर्पित रहेकोप्रति उच्च मूल्याङ्कन गदैं सम्मान गरेको स्वास्थ्य शाखाका मिश्रीलाल मेहताले बताएका छन् । नगरको सुरक्षामा खटिएको नगर प्रहरीले नगरको चुस्त द्रुस्त रुपले सुरक्षा सहित अन्य कुरामा अहम भूमिका खेलेको प्रति नगरपालिकाले सम्मान गरेको हो ।
कोरोनाको महामारीमा पनि उनीहरुले क्वारेन्टाइन देखी आइसोलेसन केन्द्र सम्म सेवा दिएकोले उनीहरुलाई केही दिन नसकिपनि मनोवल उच्च राख्न सम्मान गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, वडाध्यक्षहरु रविन्द्र कुमार मण्डल, श्यामदेव मेहता, कालुराम गुरुङ्ग, अन्जनी कुमार पोखरेल र कार्यपालिका सदस्यहरुले उनीहरुलाई अबिर लगाई खदा ओढाएर २१ जना नगर प्रहरीलाई सम्मान गरेका थिए ।
एक दर्जन बढी सरसफाईकर्मीलाई समेतम सोही कार्यक्रममा सम्मान समेत गरिएको थियो । २१ जना नगर प्रहरीहरुलाई सम्मान स्वरुप जनही २ हजारका दरले पुरस्कार दिइने समेत बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया