सर्लाहीमा कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप, डिएसपी सहित २२ जना घाईते – Nagarikabhiyan : National News

सर्लाहीमा कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप, डिएसपी सहित २२ जना घाईते

जनकपुरधाम । प्रहरीले हत्या घटनाको छानबिन नगरेको भन्दै नेपाली काँग्रेसले सर्लाहीको मलंगवामा गरेको बिरोध प्रदर्शनमा कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मी बिच झडप भएको छ ।

सर्लाहीको महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिन गर्नुपर्ने माग गर्दै काँग्रेसले मलंगवामा आज (बुधबार) गरेको प्रदर्शनमा प्रहरीले ३१ राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

बुधबार नेपाली कांग्रेसले मलंगवामा रामनगर गाउँपालिका वडा नम्बर ७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै गरेको प्रदर्शनको क्रममा झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताइएको छ । प्रहरी कार्यालय घेराउ गर्न पुगेका समूहसंगको झडपमा परी २ जना प्रहरी नायब उपरीक्षक सहित २२ जना प्रहरी घाइते भएका छन् । घाईते हुनेहरुमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरिक्षक उद्धवसिंह भाट, सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झा सहित २२ जना रहेका छन् ।

सर्लाहीको रामनगर वडा नम्बर ७ स्थित सिसौटका महेन्द्र रामको हत्याको छानविनको माग गर्दै जिप्रका सर्लाही घेराउ गर्न गएका प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नम्बर २ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंह लगायतकाहरु सहभागी भएको सो विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको उनीहरुले आरोप लगाएका छन् ।

प्रहरी कार्यालय अगाडी प्रदर्शन गरी घेराउका क्रममा ढुंगा प्रहार हुँदा प्रहरी कार्यालयका सिसाहरू समेत फुटेका छन् । सशस्त्र प्रहरीका १८ वटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएका छ । प्रदर्शनकारीले घेराउ गर्न थालेपछि सशस्त्र प्रहरी बलबाट प्रहरी नायब उपरिक्षक सरोज खड्काको नेतृत्वमा १ सय प्रहरी परिचालन गरिएको थियो । स्थानीय चन्दु नन महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा ६५ वर्षीय महेन्द्र राम घाइते भएका थिए । उनको वीरगंज स्थित नेपाल इन्डो अस्पतालमा २२ गते उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि आफन्तले घटनाको छानविन, १० लाख रुपैयाँ क्षतिपूर्ति तथा शहिद घोषणा लगायतका माग गर्दै आएका छन् ।

सो घटनामा १ महिला र २ पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ । तर, आन्दोलनकारीले भने थप ९ जनाको नाम समावेश गर्दै जाहेरी दरखास्त दर्ता गर्नुपर्ने प्रहरीमाथि दवाव दिदैँ आएको प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताए ।

प्रहरी उपरिक्षक राठौरले घटनामा संलग्न नभएका व्यक्तिहरूको नाम आएपछि जाहेरी दरखास्तमा उनीहरुको नाम समावेश नगरिएको बताए । उनले घटनामा संलग्न ३ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको जानकारी दिए ।

यता नेपाली कांग्रेसका नेता समेत रहेका प्रतिनिधिसभा सदस्य अमरेश नारायण सिंहले महेन्द्र रामको हत्यामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुको संलग्नता रहेको र उनीहरुलाई प्रहरीले बचाउन खोजिरहेको आरोप लगाए ।