स्थानीय निर्वाचन : संयमित भएर मतदान गर्न सरकारको आग्रह – Nagarikabhiyan : National News

स्थानीय निर्वाचन : संयमित भएर मतदान गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भूमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह गरेको हो ।

सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसै योजना अनुसार सम्पूर्ण सुरक्षा परिचालित भएको बताए ।

उनले स्थानीय निकायको निर्वाचनका लागि राज्यले चुस्त,दुरुस्त सुरक्षा व्यवस्थापन गरेको बताए । प्रवक्ता पोखरेलले अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रवक्ता पोखरेलले भने, ‘अहिलेको परिस्थिति हेर्दा सरकारी स्तरबाट सम्पूर्ण श्रोत साधनहरु निर्वाचनमा परिचालित गरेका छौँ । हाम्रा सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई हामीले निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न, हाम्रो राष्ट्रिय स्तरको नीति पनि बनेको छ, एकीकृत सुरक्षा योजना । प्रत्येक जिल्लामा पनि सुरक्षा योजना बनेर त्यही सुरक्षा योजना मुताविक हाम्रो सम्पूर्ण सुरक्षा परिचालित भएको अवस्था छ । त्यसकारणले राज्यले चुस्त, दुरुस्त, सुरक्षा व्यवस्थापन गरिराखेको अवस्था छ एकातिर भने अर्कातिर सबै राजनीतिक दलहरु निर्वाचनमा होमिनुभएको अवस्था छ ।’

उनले थपे, ‘उहाँहरुले पनि सुरक्षा व्यवस्थापनमा चासो राखेर सुरक्षा व्यवस्थापन गर्नुपर्छ भनेर लाग्नुभएको छ । आम नागरिक, नागरिक समाजले पनि सुरक्षामा चासो राखेर कतै निर्वाचनलाई बिथोलिने काम गर्नुहुँदैन, हामी सबैले निर्वाचनलाई सघाउनुपर्छ भनेर लाग्नुभएको हुँदा अहिले राज्य नै निर्वाचनमय भएको छ । निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुनेछ भन्ने विश्वास गर्दछु ।’

प्रवक्ता पोखरेलले पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढिरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरे । विदेशबाट स्थानीय तहको निर्वाचका लागि मतदान गर्न आउने नागरिकहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन अनुरोध गरे ।

त्यस्तै प्रवक्ता अधिकारीले सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु राखिएको जानकारी दिए । उनले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पारे ।

प्रवक्ता पोखरेलले भने, ‘निर्वाचन भीड जम्मा हुने ठाउँ हो । कोरोना संक्रमण खुला सीमाना छ । निर्वाचनमा भाग लिनको लागि देश, विदेशबाट नेपाली जनताहरु यहाँ आउनुहुन्छ । हामीले उहाँहरुलाई बोर्डर एरियामा प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको समन्वयमा त्यही किसिमको हेल्थ डेस्कहरु राखेका छौँ । हामीले यसबारेमा स्वास्थ्य मन्त्रालयसँग थप के गर्नुपर्छ सरसल्लाह लिइरहेका छौँ । उहाँहरुले पनि यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर जानुभएको छ । त्यसैले भोलिको दिनमा स्वास्थ्य मन्त्रालयले यसलाई व्यवस्थापन गर्नेछ ।’

त्यस्तै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपील गरे । त्यस्तै उनले भारतमा कोरोना संक्रमण बढेको भन्दै नेपाल आउने नागरिकहरु र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरुले सवस्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको बताए ।

सहप्रवक्ता अधिकारीले कोरोनाको सम्भावित जोखिमलाई कम गर्न सरकारले भारतसँगको सीमा नाकाहरुमा हेल्थ डेस्क राखेको र आवतजावतलाई व्यवस्थित गर्न लागिपरेको बताए । सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूर्ण जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।

यसका साथै उनले स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी विभिन्न कार्ययोजना बनाइ सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताए । सहप्रवक्ता अधिकारीले जनस्वास्थ्यका मापदण्डको सुनिश्चितता गर्न हरेक स्थानीइ मतदान केन्द्रमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने पनि जानकारी दिए । उनले अहिले स्वास्थ्य मन्त्रालय जोखिमको आँकलन गर्ने, निगरानी गर्ने, संवेदनशीलताका आधारमा प्राविधिक विश्लेषण गर्ने र सम्बन्धित सबै निकायहरुसँग समन्वय गरी आवश्यक तयारीका लागि सर्वसाधारणहरुलाई खोप लगाउन बाँकी व्यक्तिलाई खोप लगाउने, जनस्वास्थ्यका मापदण्ड उल्लंघन नहुने खालको वातावरण बनाउन सबैलाई आह्वन गर्ने र बुझाउने कुराहरुमा स्वास्थ्य मन्त्रालय लागिरहेको बताए ।

सहप्रवक्ता अधिकारीले भने, ‘अहिले हामी आसन्न स्थानीय तहको निर्वाचनको समयमा छौँ । अहिले निर्वाचनको प्रचारप्रसारका कुराहरु आवश्यक तयारीको कुराहरु चलिरहेका छन् । यही क्रममा छिमेकी मुलुक भारतमा विभिन्न सन्दर्भमा व्यापार, व्यवसाय, अध्यननका लागि गएका नेपालीहरु हुनुहुन्छ, उहाँहरु मतदानमा सहभागी हुनका लागि उहाँहरु आउँदै हुनुहुन्छ । यो आउने क्रममा उता संक्रमण बढीरहेको अवस्थामा उहाँहरु आउँदै गरेको र यतातिर संक्रमण सकियो कि भन्ने खालको बुझाइ बढीरहेको अवस्था देख्दा जोखिमका हिसवाले अलि बढी संवेदनशील हुनुपर्ने स्वास्थ्य मन्त्रालयले आँकलन गरेको छ । त्यसैअनुसार जति पनि हेल्थ डेस्कहरु छन्, सीमावर्ती क्षेत्रहरुमा रहेको आवतजावतलाई व्यवस्थित गर्ने कुरा र उहाँहरु जुन ठाउँमा आउनुहुन्छ ती स्थानीय तहमा उहाँहरु गएर जनस्वास्थ्यका मापदण्डको पालना गर्ने, क्वारेन्टेनको कुराहरुको पालना गर्ने कुराहरु स्वास्थ्य मन्त्रालयले जोखिमको आँकलन गरेर पत्राचार गरेको त्यसैअनुसार उहाँहरुलाई बुझाउने कामहरु गरेको छ ।’

उनले फेरि भने, ‘चुनावलाई लिएर चुनाव भन्दा अघि र चुनावकै दिनमा पनि जनस्वास्थ्यका मापदण्डको पालना हुने कुराको सुनिश्चितता गर्न हरेक स्थानीय मतदान केन्द्रहरुमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने व्यवस्था गर्न, मास्क र हातको सरसफाईको कुराहरुलाई व्यवस्थित गर्नका लागि प्राविधिक विश्लेषण गरेर स्वास्थ्य मन्त्रालयले सम्बन्धित निकायहरुसँग आवश्यक तयारीका कामहरु अघि बढाएको छ । अहिले स्वास्थ्य मन्त्रालयले जोखिमको आँकलन गर्ने, त्यसको निगरानी गर्ने, त्यसको संवेदनशीलताका आधारमा प्राविधिक विश्लेषण गर्ने र सम्बन्धित सबै निकायहरुसँग समन्वय गर्ने र आवश्यक तयारीका लागि सर्वसाधारणहरुलाई विशेष गरी खोप लगाउन बाँकी व्यक्तिलाई खोप लगाउने कुराहरु, जनस्वास्थ्यका मापदण्ड उल्लंघन नहुने खालको वातावरण बनाउन सबैलाई आह्वन गर्ने र बुझाउने कुराहरुमा स्वास्थ्य मन्त्रालय लागिरहेको छ ।’

सहप्रवक्ता अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि संक्रमण फैलिन सक्ने जोखिम बढिरहेको भन्दै मास्क नलगाउने, कोरोनाको प्रोटोकल पालना नगर्ने र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न थालेकोले बढी जोखिम भएको बताए ।