बर्जुमा सामाजिक परीक्षण
२१ चैत्र २०७८, सोमबार १८:२३
सुनसरीको बर्जु गाउँपालिकामा वार्षिक लेखाजोखा सहित सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक विकासका गतिविधि तथा लेखाजोखा सहितको सामाजिक परिक्षण प्ररिक्षण कार्याक्रम सम्पन्न भएको हो ।
स्थानीय तहका नागरिकहरुको गाउँपालिका प्रति भएको सकारात्मक सोचसँगै पूर्वमै स्थापित र सम्भावना बोकेको सामाजिक जिम्मेवारी निवार्हको पाटोमा बर्जुको अवस्था साकारात्मक रहेको परीक्षण प्रतिवेदनले औल्याएको छ । स्थानीय तह सामाजिक परीक्षण कार्यविधि बमोजिम स्थानीय तहहरूले एक आर्थिक वर्षमा समग्र सामाजिक जिम्बेवारी पूरा गरे नगरेको सम्बन्धमा लेखाजोखा गर्ने कार्यलाई व्यवस्थित गर्न सामाजिक परीक्षण गरिएको बर्जु गाउँपालिकाका प्रशासन शाखा प्रमुख सृजना क्षेत्रीले जानकारी दिनुभयो । प्रत्येक आर्थिक वर्षको प्रथम चौमासिक भित्र अघिल्लो आर्थिक वर्षको सामाजिक परीक्षण कार्य गरिसक्नु पर्ने व्यवस्था गरिएको अनुसार कार्यक्रम सम्पन्न गरिएको तर प्रतिवेदन ढिलो हस्तान्तरण गरेको छ । स्थानीय तहको सामाजिक जिम्मेवारी, त्यसलाई पालना गर्न भएको प्रयास तथा कार्यसम्पादनको लेखाजोखा गर्ने प्रकृयालाई मार्गदर्शन गर्न प्रतिवेदन तयार गरेको आयोजक सिएसई संस्थाका विरेन्द्र साहले जानकारी दिनुभयो ।
कार्यक्रममा सहजकर्ता साहले सामाजिक परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने सम्मको व्यवस्था र यसको फाईदाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको आ.व. २०७७÷०७८ सामाजिक परीक्षण सम्पन्न गरिएको प्रतिवेदन गाउँपालिका अध्यक्ष रघुनन्द चौधरी, उपाध्यक्ष संगिता राय, प्रमुख प्रशासनकिय अधिकृत प्रमोद कुमार चौधरीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष विरेन्द्र साहले जानकारी दिनुभयो । साहका अनुसार संस्थालाई दिइएको जिम्मेवारी पूरा गर्ने क्रममा यस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, सचिवहरु, ईन्जिनियर, लेखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख, राजश्व प्रशासनका कर्मचारीहरु तथा यहाँका विभिन्न फाँटमा कार्यरत कर्मचारीहरुको अमूल्य सुझाव, सल्लाह र सहयोग प्राप्त भएको छ । प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा पालिका क्षेत्रका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया