राष्ट्रिय भूमि आयोग र कोशी गाउँपालिकाबीच पुनः सम्झौता
२३ माघ २०७८, आईतवार १६:४५
इनरुवा, माघ २३ गते । नेपाल सरकारको राष्ट्रिय भूमि आयोग र कोशी गाउँपालिकाबीच पुनः सम्झौता भएको छ । आयोग र कोशी गाउँपालिका बीच आईतबार भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न सम्झौता भएको हो । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष भगिरथ खत्वे र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । वर्तमान सरकारले गठन गरेको नयाँ आयोगसँग सम्झौता भएसँगै कोशीमा लगत संकलन कार्यले निरन्तरता पाउने भएको छ ।
अघिल्लो सरकारको पालामा गठन भएको आयोग र कोशी गाउँपालिका बीच पनि गत बर्ष सम्झौता भएको थियो । तर, वर्तमान सरकारले उक्त आयोग विघटन गरेसँगै लगत संकलन कार्य बीचमै अलपत्र परेको थियो ।
आयोगका अध्यक्ष निरौलाले अघिल्लो आयोगले गरेको कामहरुलाई पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले संघीय सरकारले प्राथमिकता दिए जसरी नै स्थानीय सरकारले पनि भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । कोशीका अध्यक्ष अंसारीले पनि अघिल्लो आयोगले गरेको कामलाई निरन्तरता दिने उल्लेख गर्दै पुर्जा पाइन्छ कि पाइन्दैन भन्ने अविश्वासलाई चिर्ने गरि गाउँपालिकाले आयोगसंग मिलेर काम गर्ने बताउनुभयो । अंसारीले कोशी बाढीको बेलामा भएको जग्गा वितरण अहिले गर्न लागेको काममा समन्वय कसरी गर्ने भन्ने विषयमा पनि निरौलासंग सामान्य छलफल गर्नुभयो ।
कोशीमा कोही पनि दलित, सुकुम्बासी र विपन्नलाई समस्या नहुने गरि तथा सबैलाई जग्गा र घर भएको गाउँबासी बनाउने उद्देश्यका साथ काम गर्ने बताउनुभयो । वहाँले भूमिहिन सुकुम्बासीहरुको समस्याप्रति सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो । उहााले फेरि फेरि आयोग गठन गर्न नपर्ने गरि काम सम्पन्न गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा आयोग केन्द्रिय अध्यक्ष निरौला सहित आयोगका सुनसरी जिल्ला अध्यक्ष भगीरथ खत्वे, नेपाली काग्रेंसका जिल्ला सभापती केदार भण्डारी, भोक्राहा नरसिंहका उपाध्यक्ष पुनम कुमारी मेहता, जसपाका नेता मुन्ना हलुवार्ई, जपसाका युवा नेता मिथलेश यादव, ब्रहमदेव यादव, महानन्द यादव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमपछि अध्यक्ष निरौलाले गोरखापत्रसंग कुराकानी गर्नुहुदै सुकुम्वासीका समस्याहरुलाई हटाउने बताउनुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्नमा लागेको र फारम भरेको ३५ दिन पछि जग्गा हस्तान्चरण गर्ने गरि काममा जुटेको बताउनुभयो ।
निरौलाले भन्नुभयो, ‘भूमि आयोग गठन भएकोले विगतकै जस्तो होला कि भन्ने धेरैलाई लागेको हुन सक्छ, तर हामीले दलित भूमिहीन, भूमिहीन र अव्यवस्थित बसोवासीहरुका लागि काम गरेर देखानेछौं ।,’

यसैबीच भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्नका लागि गठन भएको राष्ट्रिय भूमि आयोगको सुनसरी जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तहका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।
१, राष्टिय भुमी आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष भगिरथ खत्वे र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले सुकुम्बासी समस्या सामाधान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभई हस्तान्तरण गर्नुहुदै । तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया