मानवीय सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान
२ माघ २०७८, आईतवार ११:२५
काठमाडौं । अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ ।
परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।
काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताउनुभयो । मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ता कपडा, भाँडाकुँडा समावेश रहेको बताउनुभयो । खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको जानकारी मन्त्री खड्काले दिनुभयो ।
सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्रीहरु व्यवसायीहरुले निःशुल्क रुपमा उपलब्ध गराएको छ । ती सामग्रीहरु अफगानिस्तानसम्म पुर्याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि मन्त्री खड्काले बताउनुभयो ।
हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नु होला !

फेसबुकबाट तपाईको प्रतिक्रिया