इटहरीका दुई वटा वडा सिल
८ भाद्र २०७७, सोमबार १८:०६
इनरुवा । कोरोना सङ्क्रमितको संख्या बढेको भन्दै सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ र ९ नम्बर वडालाई सिल गर्ने निर्णय गरिएको छ । जिल्लाको इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल र प्रहरी प्रमुख कमल थापा समेतको उपस्थितिमा भएको बैठकले दुई वटा वडा सिल गर्नेे निर्णय गरेको हो ।
वडा नम्बर ६ र ९ मा कोरोना सङ्क्रमितहरूको सख्या बढिरहेकाले सिल गर्ने निर्णय गरिएको वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले बताउनुभयो । भदौ १४ गते सम्म सिल गरिएको वडा नम्बर ९ का अध्यक्ष भूपेन्द्र बरालले बताउनुभयो । ती वडामा अतिआवश्यक सेवा र पसल बाहेक सबै सेवा र हिँडडुल पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ । इटहरी उपमहानगरका जनस्वास्थ्य निरीक्षक धनश्याम सिग्देलका अनुसार वडा नम्बर ६ मा १० जना र वडा नम्बर ९ मा आठ जना संक्रमित छन् ।
यसैगरी बैठकले इटहरी ९ स्थित रङ्गशालामा आइसोलेसन निर्माणका लागि आवश्यक पहल कदमी गर्ने निर्णय पनि गरेको छ । यसै गरी आइसोलेसन निर्माणमा सहयोग गर्न सम्बन्धित मन्त्रालय र निकायहरू सँग आव्हान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरेकाले इटहरीमा पनि यातायात,बजार,सङ्घ संस्था बन्द छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया