पोखरा महानगरभित्रकै सडक डेढ महिनादेखि अवरुद्ध
८ भाद्र २०७७, सोमबार १७:३४
कास्की । पोखरा महानगरपालिकाको लामाचौर हुँदै माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलासम्मको पक्की कालोपत्रे सडक अवरुद्ध भएको लामो समय बित्दा समेत मर्मत हुन सकेको छैन । लामाचौर–सार्दिखोला सडक खण्डको बेसीचोकमा गत असार २६ गते राति अन्दाजी २०० मिटर तलबाट सडक पहिरोले बगाउदा माछापुच्छ्रे गाउँपालिकाका वडा नं २, १ र ३ सहित महानगरको पुरुनचौरका नागरिकले सास्ती पाएका छन् ।
बेसीचोकमा पहिराले सडकको अधिकांश भाग बगाएपछि चार पाङग्रे सवारी साधन सञ्चालन ठप्प छ भने मोटरसाइकल तथा स्कुटर जोखिम मोलेर चलाउनुपर्ने बाध्यता छ । ठूला यातायातका साधन घुमाउरो बाटो हुँदै पोखरा बाग्लुङ राजमार्गको मिलनचोक तथा सोही वडाको घार्मीहुँदै सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ । महानगरभित्रकै सडक अवरुद्ध भएको लामो समयसम्म पुनर्निर्माण नभएपछि सरोकारभएकाहरु आक्रोशित भएका छन् ।
महानगरपालिकाको महत्वपूर्ण वडा तथा माछापुच्छ्रेको कनेक्टिङ सडक लामो समय मर्मत नहुँदा बिरामीलाई अस्पताल लैजान समेत नसक्ने अवस्था रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला कमिटी सदस्य समेत रहेका पुरुनचौर निवासी इमानराज पौडेलले बताए । “पहिरोले सडक बगाएदेखिनै यहाँ आएर सङ्घ तथा प्रदेशका मन्त्रीहरु तथा पार्टीका नेताहरुले हेर्ने काम गरेका छन् तर अहिलेसम्म सडक मर्मतको काम शुरु भएको छैन।” पौडेलले भने,“डेढ महिना समय बित्यो तर अवरुद्ध महानगरभित्रको सडक मर्मत नहुनु लाजमर्दो छ ।”
सोही वडाका वडाध्यक्ष शोभामोहन पौडेलले सडक मर्मतका बोलपत्र आह्वान भएर प्रक्रियामा रहेको बताए । प्रदेश सरकारले मर्मतका लागि बजेट उपलव्ध गराउने भएपछि छोटो अवधि १५ दिनको बोलपत्र आह्वान भएर सम्झौता समेत भइसकेकाले ‘फास्ट ट्रयाक’मा यही भदौ २० गतेबाट काम शुरु हुने उनले जानकारी दिए ।
“अवरुद्ध सडक खुलाउन हामी सबै लागि परेका छौँ तैपनि कानुनी प्रक्रिया र इन्जिनियरिङ नाप जाँच गर्दा समय लागेको छ ।” उनले भने,“ मोटरसाइकल सोही सडकबाट सञ्चालन भएको छ अन्य सवारी साधन, एम्बुलेन्सका लागि हेमजा तथा घार्मीबाट समेत वैकल्पिक व्यवस्था गरिएको छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया