मलेशियामा कार्यरत ११ नेपाली अलपत्र, खर्च नहुँदा समस्या
२९ श्रावण २०७७, बिहीबार १६:१४
मलेशिया । मलेशियामा ११ जना नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् ।
अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले ११ जना नेपाली अलपत्र परेका हुन् । अलपत्र पर्नेमा झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अम्मर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम रहेका छन् ।
नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए । पाँच महिनादेखि बिनारोजगार कोठामा बसिरहँदा खर्च अभाव भएको उनले बताए । ‘पाँच महिनादेखि काम गर्न पाएको छैन’, श्रेष्ठले भने, ‘मलेशियास्थित नेपाली दूतावासमा अनलाइनमार्फत नेपाल आउन पटकपटक फर्म भर्यो तर नियमित उडान नहुँदा महङ्गो पर्ने भन्दै कम्पनीले पठाउन मान्दैन ।’
नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उनको भनाइ छ । चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुँदा समस्या भएको भन्दै उनले सहयोगका लागि अनुरोध गरे । नेपालपानाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया